कानुन व्यवसायी सहज रुपमा सिंहदरबार प्रवेश पाउनुपर्ने सुहाङ नेम्वाङको माग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २५

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवम् एमाले युवा नेता सुहाङ नेम्बाङले कानुन व्यवसायीहरुले पनि सिंहदरबार प्रवेश गर्दा नागरिक एपबाट पास लिनुपर्ने नयाँ नियम लागु नगर्न प्रधानमन्त्री बालेन शाहको टिमका सदस्यहरुको ध्यानाकर्षण गराएका छन् ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर उनले नयाँ नियम झन्झटिलो हुने र काममा असहजता आउने भन्दै लागु नगर्न ध्यानाकर्षण गराएका हुन् ।

सिंहदरबार प्रवेशमा असहज परिस्थिति भए काममा ढिलासुस्ती हुने र सेवाग्राही मर्कामा पर्नेतर्फ आफूले ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

यसअघि कानुन व्यवसायीहरुले नेपाल बार काउन्सिलले दिने परिचय पत्रको आधारमा सिंहदरबारसहित नेपालका सबैजसो अड्डा अदालतमा प्रवेश गर्न पाउँथे । तर उनीहरुलाई सिंहदरबार प्रवेशको हकमा अहिले कडाइ गरिएको छ ।

सिंहदरबार परिसरभित्र रहेको प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीले सूचना जारी गरी कानुन व्यवसायीहरुले नागरिक एपको सिंहदरबार गेट पासका आधारमा मात्र प्रवेश पाउने जानकारी दिएका छन् ।

उनका अनुसार प्रशासकीय अदालतका पदाधिकारी र कर्मचारीहरुले सम्बन्धित निकायको आधिकारिक परिचयपत्रको आधारमा, कानुन व्यवसायीले नागरिक एपको सिंहदरबार गेटपासको आधारमा, मुद्दाका पक्ष वा वारेसले सम्बन्धित पक्षरवारेसको तारेख पर्चाका आधारमा र अन्य सबैले प्रशासकीय अदालतको दैनिक इ–पासको आधारमा प्रवेश पाउने छन् ।

नयाँ नियमप्रति कतिपय कानुन व्यवसायीले असन्तुष्टि जनाएका छन् । अधिवक्ता विनोदमणि भट्टराईले प्रशासनिक अदालत सिंहदरबारभित्रै रहेको र तर त्यहाँ पुग्न पनि पास लिनुपर्ने व्यवस्था व्यवहारिक नभएको बताए । उनले नयाँ नियममा पुनरविचार गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *