उपसभामुखबारे रवि र बालेनबिच मतभेद

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २२

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख कुन दललाई दिने भन्ने विषयमा सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहबिच राय बाझिएको छ ।

आइतबार बिहान मात्र उपसभामुखको विषयमा रवि र बालेनबिच छलफल भएको स्रोतको दाबी छ । सो क्रममा प्रधानमन्त्री बालेनले उपसभामुख श्रम संस्कृति पार्टीलाई दिनुपर्ने पक्षमा धारणा राखेको स्रोतको भनाइ छ । तर, सभापति रवि राप्रपालाई दिनुपर्ने पक्षमा उभिएका थिए । दुई नेताबिच सहमति नभएपछि आजै बेलुका फेरि छलफलमा बस्न लागिएको बुझिएको छ ।

रास्वपाका उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भइसकेका छन् । संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने भएकाले उपसभामुखबारे रास्वपाका शीर्ष नेतृत्वबिच छलफल भएको हो ।


सभामुखमा निर्वाचित अर्याल भने परिवर्तनको संबाहक र भोलिको दिनमा संविधान संशोधन तथा राजनीतिक निर्णय गर्न सहज हुने भएकाले नेपाली कम्युनिस्ट पार्टीलाई उपसभामुख दिनुपर्ने पक्षमा देखिएका थिए । तर, उपसभामुख नेकपालाई दिने पक्षमा रवि र बालेन नै सकारात्मक नभएकाले नेकपाले उक्त पद पाउने सम्भावना कमजोर बनेको स्रोतको भनाइ छ ।

यद्यपि राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुखबारे रास्वपाका नेतासँग कुनै छलफल नभएको दाबी गरेका छन् ।

संवैधानिक निकायका प्रमुख पदाधिकारी र सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश लगायत नियुक्ति सिफारिस संवैधानिक परिषदले गर्ने भएकाले उपसभामुखबारे सबैको चासो छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र प्रधानन्यायाधीश सदस्य रहनेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *