काठमाण्डौँ । नेपाली कांग्रेसको आधिकारिकताको विवाद छिटो टुंग्याउन निर्वाचन आयोगमाथि समयको चर्को दबाब परेको छ ।
नेपाली कांग्रेसको दुवै समूहका नेताहरू एकपछि अर्को गर्दै निर्वाचन आयोगमा पुगेर दबाब बढाइरहेका छन् ।
ज्ञापनपत्र बुझाउनेदेखि ध्यानाकर्षण गराउने क्रममा उनीहरूले श्रृङखलाबद्ध रूपमा आयोगका पदाधिकारीहरू भेटिरहेका हुन् ।
चौतर्फी दबाबका कारण निर्वाचनका नियमित काम गर्न कठिनाई भएको निष्कर्ष सहित आयोगले सक्दो छिटो आफ्नो निर्णय सुनाउने भनेको छ ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन हुनासाथ गगन–विश्व समूहले निर्वाचन आयोगमा आफूहरूको विशेष महाधिवेशन भइरहेको भनेर जानकारी गराएको थियो ।
त्यसको प्रतिवादमा देउवा समूहले भृकुटीमण्डपमा कुनै त्यस्तो विशेष महाधिवेशन नभएको भनी आयोगमा पत्र पठाएको थियो ।
महाधिवेशन लगत्तै देउवा र गगन(विश्व समूहले निर्वाचन आयोगमा अभिलेख अद्यावधिका लागि भन्दै निवेदन सहितको फाइल बुझाएको छ । त्यसको जवाफमा शुक्रबार बिहान आयोगमा पुगेर विशेष महाधिवेशनमा हस्ताक्षर फिर्ता लिएको भन्दै ५ सय जनाको सूची बुझाएको हो ।
देउवा पक्षले आयोगमा गएर अप्रत्यक्ष रूपमा धम्की र दबाब दिएको निष्कर्ष सहित गगन–विश्व समूह पनि निर्वाचन आयोग पुगेको छ ।
आयोगसम्बद्ध स्रोतका अनुसार, सम्भव भएसम्म शुक्रबार अपराह्न, त्यसो हुन नसके शनिबार आयोगले एउटा निर्णय गर्न सक्छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई अहिले आयोगले राजनीतिक दलहरूसँग छलफल गरिरहेको र पदाधिकारीहरू त्यसमै व्यस्त भएको बताए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्