४ विदेशीसहित ४० संस्थाले पाए निर्वाचन पर्यवेक्षण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १७

काठमाण्डौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ४ विदेशीसहित ४० संस्थाले निर्वाचन पर्यवेक्षणको अनुमति पाएका छन् ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा पर्यवेक्षण गर्न अनुमति पाएका संस्थाको कुल संख्या राष्ट्रियतर्फ ३६ वटा र अन्तर्राष्ट्रियतर्फ चार वटा गरी जम्मा ४० पुगेको जानकारी दिए ।

बुधबार मात्रै आयोगले ९ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको थियो । जसमा गरिब तथा दलित उत्थान सेवा समिति डोल्पा, जनसरोकार मञ्च नेपाल, दिगो ग्रामीण विकास केन्द्र, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, मस्वसित नेपाल, नेपाल जनप्रशासन संघ र नेपाल कानून समाज रहेका छन् । यससँगै निर्वाचन पर्यवेक्षणको अनुमति पाउने संस्थाको संख्या ४० पुगेको हो ।

अनुमति प्राप्त राष्ट्रिय पर्यवेक्षक संस्थाहरूलाई अभिमुखीकरण प्रदान गरी उक्त संस्थाहरूबाट खटाइने पर्यवेक्षकहरूलाई आयोगले परिचय पत्र उपलब्ध गराउँछ ।

निर्वाचन तालिका अन्तर्गत समानुपातिक तर्फको बन्दसूची बुझाउने कार्य सम्पन्न भइसकेको छ । हाल निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन जारी राखेको छ ।

आयोगले कलस्टर मिलाउनुपर्ने भएमा सम्बन्धित दलहरूलाई पत्राचार गर्नेछ । त्यस्तोमा दलहरूले यही पुस २७ गतेसम्म संशोधन गर्न पाउनेछन् ।

उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।

उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।

त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने कायोगको कार्यतालिका छ ।

फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *