काठमाण्डौँ । चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ ।
शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दैछ । अपराहन्न ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा सरकार, राजनीतिक दलका प्रतिनिधि, जेनजी प्रतिनिधि, सुरक्षा निकाय र निर्वाचन आयोगका आयुक्तहरू सहभागी हुँदैछन् ।
उक्त बैठकमा चुनावको तयारीबारे ब्रिफिङ गरिने आयोगले जनाएको छ । आयोगबाट सहभागी हुने आयुक्तहरूले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधिसभाको निर्वाचन, चुनावको तयारी, कानुनी जटिलता, स्रोतसाधनको उपलब्धता, सुरक्षा चुनौती र आर्थिक अवस्थाबारे ब्रिफिङ गर्न लागेका हुन् ।
निर्वाचन हुने सुनिश्चितताका लागि जस्तो वातावरण बन्नुपर्ने हो त्यस्तै वातावरण बनाउन पूर्व तयारी चुस्त हुनुपर्ने र त्यसका लागि सरकार र राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने आयोगका अधिकारीहरू बताउँछन् ।
आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा १३ वटा दलले भाग लिने तय भइसकेको छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा भाग लिनका लागि भनेर १ सय १७ वटा राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि निवेदन दिएका छन् । उक्त निवेदनउपर आयोग अध्ययनमा छ ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्