काठमाण्डौँ । आज सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता हुँदै छ । वार्ता गृह मन्त्रालयमा हुने भएको छ ।
वार्तामा प्रसाईं सहभागी हुने छैनन् । तर उनको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी हुँदैछन् ।
सरकारले १८ कात्तिकमा प्रसाईंले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाएर वार्तामा बोलाएको थियो । तर मन्त्रीस्तरीय वार्तामा दुर्गा प्रसाईं सहभागी नहुने खतिवडाले बताएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि प्रसाईं समूहसँग आज वार्ता हुन लागेको पुष्टि गरेका छन् ।
प्रसाईंले ७ मंसिरबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । यसअघि गत १५ चैतमा पनि प्रसाईंको नेतृत्वमा तीनकुनेमा आन्दोलन भएको थियो । आन्दोलन हिंसात्मक बन्दा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली कांग्रेस बीपीसँग सहकार्य गरेका छन् । आन्दोलनको तयारी अनुसार उनले यही कात्तिक २३ गते काठमाडौंको सुकुमवासी बस्तीमा कार्यक्रम गरेर आन्दोलन गर्न उक्साउ अभिव्यक्ति दिएका थिए ।
आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै प्रसाईं र उनको समूहमा रहेकाहरुमाथि निगरानी बढाइएको सुरक्षा अधिकारीहरु बताउँछन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्