मधेशमा मुख्यमन्त्री नियुक्ति विवादः असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुबाट कर्मचारी समेत कुटिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २४

काठमाण्डौँ । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई कुटेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो ।

तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेको एउटा भिडियोमा देखिन्छ । तिनै कर्मचारीमाथि भिड जाइलाग्छ । उनको टाउकोमा मुक्का बर्सिन्छ ।

त्यसपछि उनको हातबाट फाइल भुइँमा खस्छ । कुटाइ खाएका ती कर्मचारीलाई अर्का एक साथीले आक्रोशित भिडबाट फुत्काएर कोठा बाहिर निकाल्छन् ।

मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने नेता–कार्यकर्ताहरुले मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

आज बिहानै कांग्रेस सहितका सांसदहरू मुख्यमन्त्रीको कार्यकक्षभित्र पुगेर तोडफोड गर्ने क्रममा एक सांसदले नेपालको राष्ट्रिय झन्डा समेत निकालेर फालेका छन् ।

नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरू एमाले दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विरोधमा छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज कात्तिक २४ गते बिहान ४ बजेतिर बिरामी भएको भन्दै काठमाडौं जान लागेको बताएकी थिइन् ।

तर महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीस्थित होटेल पानसमा पुगेर प्रदेश प्रमुख भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदको शपथग्रहण गराएकी थिइन् । यो घटनापछि मधेशको राजनीति तरंगित भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *