सोनामाई मन्दिरमा भूत मेलाको तयारी पूरा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन २१

महोत्तरी : बडादसैंका बेला अनादी कालदेखि नै भूत मेलाका लागि प्रख्यात महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा यस वर्ष पनि भूत मेलाको तयारी पूरा भएको छ । जिल्लाको औरही नगरपालिकामा–७ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्व कालदेखि नै भूतमेलाको लागि प्रख्यात रहेको छ ।

प्रत्येक वर्ष दसैंका दश दिनसम्म करीब आठदेखि १० लाख जति व्यक्तिले दर्शन गर्ने यस शक्तिपीठमा चार दिनसम्म चल्ने भूत मेलामै सहभागी हुन मात्रै करीब दुई लाख व्यक्ति आउने हुँदा त्यस दिनका लागि यहाँ धामी झाक्री बस्ने ठाउँ, भजन किर्तन स्थल, भक्तजनको रात्रि विश्राम, भूत पिसाच, बोक्साबोक्सी र जादु टुनाबाट पीडित व्यक्ति खेल्ने स्थान र आम भक्तजनले भूत खेलेको हेर्ने स्थानका साथै सूरक्षाको भरपर्दो तयारी गरिएको पूजारी कामेश्वर झाले बताए ।

हरेक वर्ष बडादसैको सप्तमीदेखि सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि निक्कै धुमधामका साथ लाग्ने तथा सोही मेलाका लागि युवाहरुको एक दस्ताले सबै तयारी पूरा गरिसकेको पूजारी झाले बताए । बडा दसैंको सप्तमीदेखि बिजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजारौ पीडित (कारनी) र दर्शनार्थीको भिड लाग्ने गर्दछ ।

भूत प्रेत, बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजारौं पीडित प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जन विश्वास रहेको छ । वर्षौंदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु सोनामाईको सीमा क्षेत्रमा आउने बित्तिकै निको भई आ–आफ्ना घर फर्कने गरेको सहायक पुजारी अरुण झाले बताए ।

भूत मेलाका लागि टाढा टाढासम्म प्रख्यात यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका हेटौंडा, धरान, विराटगर र काठमाडौंदेखि भारतका सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौ पीडित महिला तथा पुरुष पुग्ने गरेको अर्का पूजारी झगरु झाले बताए ।

घर घरमा भूतप्रेतले रातदिन दूःखी र पीडित भएका कारनी (पीडित )हरु आ–आफ्ना घरबाट रुँदै कराउँदै यहाँ आउँछन् भने सोनामाई शक्तिपीठबाट पीडामूक्त भई हाँस्दै जाने गरेको कुरा झाँक्रीहरुले बताएका छन् । सोनामाई शक्तिपीठमा दर्जनौं धामी झाँक्री रातदिन भजन किर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४ सै घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितको पीडा हरण गर्ने गरेको कुरा अर्का पूजारी रमेश झाले बताए ।

माताको दरबारमा एक पटक पुग्ने पीडितको शरिरमा जीवनमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने विश्वास जनमानसमा रहेको छ । प्रत्येक वर्ष लाखौं दर्शनार्थी मेला भर्न आउने यस सोनामाई शक्तिपीठमा यसवर्ष सोनामाईको भूत मेलामा करीब दुई लाख भक्तजन सहभागी हुने अनुमान रहेको सोनामाईका अर्का पूजारी घनश्याम झाले बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *