×

इलाम २ उपचुनावको तयारी पूरा, ४८० सेना परिचालन

बैशाख १४, २०८१ | दाक्सु मिडिया

इलाम क्षेत्र नं २ मा भोलि हुने उपचुनावको सम्पूर्ण तयारी पूरा भएको छ । सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । उनले आफूहरू निर्वाचनको अन्तिम चरणमा रहेको र मतदानको पर्खाइमा रहेको जनाए । 
उनले निर्वाचनका लागि मतदान अधिकृत, सुरक्षाकर्मीहरू सबै ठाउँमा खटिइसकेको र मतदान केन्द्रहरू पनि निर्माण भइसकेको बताए । उनले मतदानका लागि आवश्यक सामग्री पुगिसकेको बताए । उनले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने जनाए । उनले मतदाताहरू मतदान गर्नका लागि उत्सुक भई मतदान स्थलहरूमा आउने र त्यहाँको स्थिति नियाल्ने काम गरिरहेको बताए  । 
इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडामा मतदान हुनेछ । जसमा ७९ वटा मतदान स्थल, १४९ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । सबै मतदाताहरूलाई पुग्ने गरी निर्वाचनका सामग्रीको व्यवस्था गरिसकेको उनले जानकारी दिए । उनले मतदातालाई निर्भीकतापूर्वक मतदान गर्न पाउने व्यवस्था मिलाएको र सुरक्षित किसिमबाट मतपेटिका गणनास्थलमा लैजाने बताए । 
यता इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ४२ वटा वडामा मतदान हुने र ७९ वटा मतदानस्थल र १४९ वटा मतदान केन्द्रहरूमा रहेका सबै स्थललाई सुरक्षाको वर्गीकरण गरिएको बताए ।
उनले सामान्य, संवेदनशील र अति संवेदनशील गरेर तीन स्तरमा वर्गीकरण गरिएको र ४९ वटा मतदान केन्द्र सामान्य, २१ वटा संवेदनशीलमा र १९ वटा अति संवेदनशीलमा रहेको बताए । उनले सामान्य मतदान स्थलमा न्यूनतम ८ जना प्रहरी, संवेदनशीलमा ९, अतिसंवेदनशीलमा १२ जना र अन्य सुरक्षाका लागि पनि सुरक्षा गस्ती हुने जानकारी दिए । नेपाल प्रहरी १३ सय ६३ जना, सशस्त्र प्रहरी बलतर्फ ७१० र नेपाली सेनाको ४८० जना र राष्ट्रिय अनुसन्धान विभागबाट २४ जना गरेर २ हजार ५७७ जना खटिएको बताए । 
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम २ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान हुँदै छ । जहाँ ७४५ जना कर्मचारी खटिइसकेका छन् । पुरुष तथा महिलाका लागि अलग/अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको छ ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: