×

चितवन पुगेर प्रचण्डले भने: रंगशाला निर्माणको काम एक-दुई हप्तामै सुरू हुन्छ 

चैत्र १६, २०७९ | दाक्सु मिडिया

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयमा एक-दुई हप्ताभित्रमा निर्णय हुने बताएका छन्। 

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यासपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले एक-दुई हप्तामा निर्णय गरेर क्रिकेट रंगशाला निर्माणको काम सुरू गर्ने बताए। 

‘त्यो क्रिकेट रंगशालाको विषयमा मलाई लाग्छ एक हप्ता या दुई हप्ताभित्र सबै समस्या समाधान हुन्छ र निर्माण कार्य अगाडि बढ्छ। यो कुरामा म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु,’ उनले भने। 

भरतपुरमा बनिरहेको रंगशाला आर्थिक अभावका कारण अलपत्र बनेको छ। 

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’को नेतृत्वमा धुर्मुस-सुन्तली फाउण्डेशनले बनाएको रंगशालाको काम २०७८ सालको साउन देखि रोकिएको छ। करिब १८ करोड रुपैयाँ उधारो तिर्न नसकेपछि कट्टेलले भरतपुर महानगरपालिकालाई रंगशालाको स्वामित्व हस्तान्तरण गरेका थिए।

तर उक्त उधारो कसरी तिर्ने भन्ने विषयमा अन्यौल हुँदा निर्माणको काम अघि बढ्न नसकेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताइन्। 

‘विविध कारणले रोकिएको रंगशाला निर्माणको प्रक्रिया केही दिनमा अघि बढ्छ। अब अन्तिम गोल हान्न मात्रै बाँकी छ,’ मेयर दाहालले भनिन्, ‘मन्त्रिपरिषद्ले पूर्णता पाएपछिको पहिलो बैठकले त्यो निर्णय गर्ने आशा छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: