सोताङ गाउँपालिका र जेनजी युवाबीच १६ बुँदे सहमति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ८

सोलुखुम्बु । सोताङ गाउँपालिका र जेनजी युवाबीच सार्वजनिक सेवा सुधार, सुशासन, स्वास्थ्य, खेलकुद र सूचना–प्रविधि सम्बन्धी मागहरू सम्बोधन गर्न १६ बुँदे सहमति भएको छ। गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको उपस्थितिमा युवाहरूले पेस गरेको मागपत्रका आधारमा उक्त सहमति भएको हो ।

सहमातिअनुसार खेलकुद कार्यक्रम र तालिम व्यवस्थापनमा युवाको सहभागिता सुनिश्चित गरिनेछ। इन्टरनेट तथा टेलिकम सेवामा देखिएको शुल्कविषयक समस्या छानबिन गरिने र आवश्यक सेवा सोताङ शाखाबाटै उपलब्ध गराउने पहल हुनेछ।

सोताङ प्राथमिक अस्पतालमा निःशुल्क औषधि अभाव तुरुन्त समाधान गर्ने, प्रहरी कार्यालयमा बनेका संरचनाको विवरण सार्वजनिक गराउने तथा अधुरा वा रोकिएका संरचनाहरू चाडै सञ्चालनमा ल्याउने निर्णय गरिएको छ।

२०७९/८० मा निर्माण भएको सडक तथा ड्रेनेज कार्य असन्तोषजनक रहेको भन्दै ठेकेदारसहित विस्तृत विवरण सार्वजनिक गरिनेछ । पाथिभरा र पञ्चकन्या–कालिका मन्दिर सम्बन्धी ३२ लाख खर्चको छानबिन पनि अग्रसर गरिने छ ।

कृषि अनुदान प्रभावकारी बनाउने, निजी विद्यालयले दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउने, १८ वर्ष मुनिका बालबालिकालाई नशा पहुँच रोक्ने तथा विद्यालयको भौतिक शैक्षिक सुधारमा प्राथमिकता दिने सहमति गरिएको छ ।

गाउँपालिकाले पारदर्शिता, जवाफदेहिता र युवा–मैत्री सेवामा निरन्तर सुधार ल्याउने प्रतिबद्धतासमेत जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *