एभरेस्ट–दुधकोशी कल्चरल ट्रेल’को औपचारिक सुरुवात, स्थानीय पर्यटन प्रवर्द्धनमा आशा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १६

काठमाडौँ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले स्थानीय संस्कृति, प्रकृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘एभरेस्ट–दुधकोशी कल्चरल ट्रेल’को औपचारिक सुरुवात गरेको छ।

काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममार्फत रक्षा मन्त्री मानवीर राईले ट्रेल सम्बन्धी वृत्तचित्र, म्याप, आइटिनरी तथा प्रचारप्रसार सामग्रीहरू सार्वजनिक गर्दै ट्रेलको शुभारम्भ गरेका हुन्। कार्यक्रमका क्रममा मन्त्री राईले यस्ता परियोजनाहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै पर्यटकीय गन्तव्य विस्तार गर्न सक्ने विश्वास व्यक्त गरे।

ट्रेलको लम्बाइ करिब ५ देखि ९ दिनसम्मको रहेको छ। माप्य दुधकोशी–५ स्थित सिलगुढी डाँडाबाट सुरु हुने यो ट्रेल मेरा हुँदै राप्छा, बासा, खास्ताप, काँकु, जुभिङ र वाकुजस्ता गाउँहरू हुँदै अघि बढ्छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण दृश्यावलोकन स्थलहरू र घना जंगलबीचको यात्राले पर्यटकलाई छुट्टै अनुभव दिने गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले जानकारी दिए।

उक्त ट्रेलले हिमाली संस्कृति, जैविक विविधता र स्थानीय जीवनशैली नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्ने जनाइएको छ। साथै, यसले सोलुखुम्बु जिल्लाको पर्यटनको वैकल्पिक सम्भावना विस्तार गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *