सोलुखुम्बु — लिखुपिके गाउँपालिकाले मंसिर १२ गते Gen Z प्रतिनिधि माधव बस्नेतको नेतृत्वमा आएको समूहसँग विशेष समन्वय तथा आन्तरिक छलफल बैठक सम्पन्न गरेको जनाएको छ। करिब चार घण्टा चलेको बैठक सौहार्दपूर्ण, शान्त र सकारात्मक वातावरणमा अघि बढेको गाउँपालिकाले पुष्टि गरेको छ।
गाउँपालिकाका अनुसार यस छलफलको मुख्य उद्देश्य Gen Z युवाहरूका माग, सुझाव र चासोलाई औपचारिक रूपमा सुन्ने तथा भविष्यका नीतिगत र कार्यक्रमगत कार्ययोजनामा आवश्यक समायोजन गर्ने थियो। समन्वय, कार्यक्रम संरचना, पारदर्शिता, सूचनाको पहुँच र सार्वजनिक प्रस्तुति जस्ता विषयमा दुवै पक्षबीच विस्तृत र रचनात्मक संवाद भएको बताइएको छ।
यता, सामाजिक सञ्जालमा बैठक बहिष्कार भएको जस्ता दाबीहरू प्रवाह भएपछि गाउँपालिकाले ती सबैलाई तथ्यविहीन र भ्रम फैलाउने प्रकृतिका गतिविधि भनेको छ। बैठकमा सहभागी नै नभएका केही व्यक्तिहरूले फेक आइडी प्रयोग गरी गलत सूचना प्रवाह गरेको भन्दै गाउँपालिकाले गम्भीर ध्यानाकर्षण गराएको छ।
बैठक सुरु हुनुअघि केही गैर–Gen Z व्यक्तिहरूले छलफलस्थलमा अनधिकृत रूपमा प्रवेश गर्ने प्रयास गरे पनि गाउँपालिका र Gen Z स्वयं प्रतिनिधिहरूले मिलेर रोकिएको स्पष्ट गरिएको छ। गाउँपालिकाले यस्तो हस्तक्षेप रोकिएकै कारण छलफल विषय–केन्द्रित र मर्यादित रूपमा सञ्चालन गर्न सहज भएको जनाएको छ।
LIVE प्रसारणका विषयमा पनि गाउँपालिकाले भ्रम हटाउँदै उक्त छलफल पूर्ण रूपमा आन्तरिक प्रकृतिको भएकाले प्रत्यक्ष प्रसारण गर्ने कुनै योजना नै नभएको स्पष्ट पारेको छ। Gen Z समूहभित्र LIVE बारे आन्तरिक छलफल भए पनि अन्ततः दुवै पक्षले सार्वजनिक कार्यक्रमहरूमा मात्र LIVE गर्ने र आन्तरिक छलफललाई गोप्य राख्ने सहमति गरेको जनाइएको छ।
बैठकको अन्त्यमा Gen Z टोली र गाउँपालिकाका प्रतिनिधिहरूले छलफल सफल र सम्मानपूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै आगामी दिनमा अझ विस्तृत संवाद जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। यही सकारात्मक वातावरणको प्रतीकस्वरूप दुवै पक्षले सामूहिक फोटो खिचेर कार्यक्रम समापन गरिएको थियो।
गाउँपालिकाले युवाको सोच, ऊर्जा र सुझावलाई संस्थागत रूपमा समेट्दै पारदर्शी र प्रक्रियागत ढङ्गले सम्बोधन गर्ने प्रतिबद्धता दोहो¥याएको छ। साथै, सामाजिक सञ्जालमा तथ्य नबुझी भ्रम फैलाउने गतिविधिबाट टाढा रहन र यथार्थमा आधारित संवादलाई प्राथमिकता दिन सबैलाई अनुरोध गरेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्