काठमाडौँ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउबारे जानकारी दिएको हो । गत फागुन १७ गते धादिङ त्रिपुरासुन्दरी गाउँपालिका १ मा रहेको खोल्सी भन्ने स्थानमा भित्री सडक सफा गर्दै गर्दा सोही स्थान बस्ने ४० वर्षीय सरस्वती कुमाललाई ठक्कर दिई घाइते बनाएपछि खाल्डो खनेर पुरिएको थियो ।
प्रदेश नम्बर ३–०१–००३ क ६५६४ नम्बरको जेसिबीले माटो फाल्ने क्रममा डोजरको बकेटले लागेर घाइते भएकी महिलालाई खाल्डो खनेर जिउँदै पुरेको प्रहरीको दाबी छ । तर खाल्डो खनेर पुर्दै गरेको अवस्थामा स्थानीयले देखेपछि उनको उद्दार गरिएको थियो । यद्यपि उद्धारकै क्रममा महिलाको मृत्यु भएको थियो ।
हत्यापछि धादिङबाट फरार भएका चालकलाई झण्डै ३ सातापछि भारतको हरिद्वारबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया