पुरुषलाई होटलमा बोलाउँदै भिडियो बनाउने दुई महिला पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र ५

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाले हनि ट्रयापिङबाट ठगी गर्ने २ महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्ने दुबै महिला सुर्खेतका हुन्। उनीहरूलाई काठमाडौंको सामाखुसीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विरेन्द्रनगर नगरपालिका–१० काठमाडौं घट्टेकुलो बस्ने ३७ वर्षीया लालसरी शाही (ललिता) र सोही ठाउँकी ३७ वर्षीया कल्पना हमाल पक्राउ परेको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

ललिताले काठमाडौं कोटेश्वरका एक पुरुषलाई सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठामा सँगै बसेको भिडियो गोप्यरुपमा कल्पनाले खिचेर म्यासेन्जरमार्फत पठाएर ब्ल्याकमेल गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

भनेजति पैसा नदिए घरपरिवार साथै प्रहरीमा उजुरी गरेर फसाइदिने भन्दै रकम मागेको पिडक पुरुरुषले प्रहरीसमक्ष बयान दिएका छन्। पछिल्लो समय ८ लाख रुपैयाँ मागेपछि आफूलाई ब्ल्याकमेल गरेको हुनसक्ने भन्दै ती पुरुषले प्रहरीमा जाहेरी दिएका थिए।

पटक–पटक गरेर ती पुरुषसँग उनीहरुले ३ लाख २ हजार ५ सय रुपैयाँ लिएको एसपी कोइरालाले बताए। ‘ती महिलाहरुले यसरी नै धेरै व्यक्तिलाई ब्ल्याकमेल गरेको हुनपर्छ,’ एसपी कोइरालाले भने, ‘थप अनुसन्धान भइरहेको छ।’

ललिताले २०६६ साल मंसिरमा बाँके नेपालगन्जका राजु धितालको अपहरणपछि हत्या आरोपमा ७ वर्ष जेल बसेर छुटेको खुलेको छ। जिल्ला अदालत बाँकेले १४ वर्ष जेल सजाय सुनाए पनि उच्च अदालत, बाँकेले २०७४ मंसिर २२ गते १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *