काठमाण्डौँ । पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन् । प्रारम्भिक रूपमा सुनामीको चेतावनी जारी गरिए पनि केही समयपछि खतरा टरेको घोषणा गरिएको छ ।
सुलावेसी र मालुकु टापुबीच केन्द्रविन्दु रहेको भूकम्पका कारण समुद्रमा करिब ७५ सेन्टिमिटरसम्म अग्ला छालहरू उत्पन्न भएका थिए । हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले इन्डोनेसिया, फिलिपिन्स र मलेसियासहित आसपासका क्षेत्रमा खतरनाक सुनामी आउन सक्ने चेतावनी दिएको थियो, तर भूकम्पको करिब दुई घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको थियो ।
उत्तरी सुलावेसीको मनाडो सहरमा एक भवन भत्किँदा एक जनाको ज्यान गएको र अर्का एक घाइते भएको खोज तथा उद्धार टोलीले जनाएको छ । उद्धार अधिकारी जर्ज लियो मर्सी रान्डाङका अनुसार मृतक भग्नावशेषमुनि पुरिएका थिए र अन्य सम्भावित घाइतेबारे पनि विवरण सङ्कलन भइरहेको छ।
भूकम्पको गहिराइ करिब ३५ किलोमिटर रहेको अमेरिकाको भूगर्भ सर्वेक्षण संस्था ९युएसजीएस० ले जनाएको छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्