रूस–युक्रेन युद्धको ४ वर्ष पुग्यो, युक्रेनी आत्मा नटुटेको जेलेन्स्कीको भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १३

काठमाण्डौँ । रुस र युक्रेनबीच युद्ध सुरु भएको चार वर्ष पुगेको छ । यस अवसरमा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले युक्रेनको आत्मबल तोड्न वा आफूले सुरु गरेको युद्ध जित्न नसकेको बताएका छन् । युद्धमा युक्रेनी जनताले ‘असाधारण साहस’ देखाएको भन्दै उनले प्रशंसा पनि गरेका छन् ।

मंगलबार गरिएको सम्बोधनमा उनले २४ फेब्रुअरी २०२२ मा सुरु भएको रूसी आक्रमण स्मरण गर्दै आफूहरुले युक्रेनको स्वतन्त्रता जोगाएको बताए ।

जाडोयाममा ऊर्जा पूर्वाधारमाथि भइरहेको कडा आक्रमण र शान्ति वार्तामा प्रगति नहुँदा पनि युक्रेन डटेर उभिएको बताउँदै उनले भने, ‘हामीले हाम्रो स्वतन्त्रता जोगाएका छौं । हाम्रो राज्यसत्ता हराएको छैन ।’

उनले भनेका छन्, ‘भ्लादिमिर पुटिन ९रूसी राष्ट्रपति०ले आफ्नो लक्ष्य हासिल गरेका छैनन् । उनले युक्रेनी जनतालाई तोड्न सकेनन्, यो युद्ध जित्न सकेनन् ।’

रुस–युक्रेन युद्धको वर्षगाँठको अवसरमा एक दर्जनभन्दा बढी वरिष्ठ युरोपेली अधिकारीहरू कीभ पुगेका थिए । कार्यक्रममा युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लेयन र फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब लगायत सहभागी थिए ।

युरोपियन युनियनले युक्रेनलाई निरन्तर राजनीतिक, वित्तीय, आर्थिक, मानवीय, सैन्य र कूटनीतिक सहयोग दिने प्रतिबद्धता दोहोर्‍याएको छ । भोन डेर लेयेनले ९० अर्ब युरो ऋण उपलब्ध गराउने योजना कुनै न कुनै रूपमा कार्यान्वयन हुने बताइन्, यद्यपि हंगेरीका कारण उक्त प्रस्ताव अवरुद्ध हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *