अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ केनेडीकी नातिनीको तातियानाको निधन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १६

न्युयोर्क । पूर्वअमेरिकी राष्ट्रपति जोन एफ केनेडीकी नातिनी तातियाना स्लोसबर्गको ३५ वर्षको उमेरमा निधन भएको छ । जलवायु परिवर्तनसम्बन्धी पत्रकार समेत रहेकी तातियानाको निधनको जानकारी जोन एफ केनेडी लाइब्रेरी फाउन्डेसनले सामाजिक सञ्जालमार्फत दिएको हो ।

उनले केही समयअघि मात्र आफूलाई निकै आक्रामक खालको क्यान्सर भएको र आफूसँग थोरै समय मात्र बाँकी रहेको खुलासा गरेकी थिइन्। डिप्लोम्याट क्यारोलिन केनेडी र डिजाइनर एडविन स्लोसबर्गकी छोरी तातियानाले गत महिना ‘द न्यू योर्कर’ मा एक लेख प्रकाशित गर्दै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी थिइन् ।

सन् २०२४ को मे महिनामा आफ्नो दोस्रो सन्तानलाई जन्म दिएलगत्तै उनलाई ‘एक्युट माइलोइड ल्युकेमिया’ (रगतको क्यान्सर) भएको पत्ता लागेको थियो । उनले उक्त लेखमा आफ्ना साना छोराछोरीले आफूलाई सम्झने छैनन् कि भन्ने डर र परिवारले झेल्नुपर्ने थप एउटा वियोगप्रति चिन्ता व्यक्त गरेकी थिइन् ।

केनेडी परिवारले इतिहासमा धेरै व्यक्तिगत त्रासदीहरू भोगेको छ । तातियानाका हजुरबुबा राष्ट्रपति केनेडीको सन् १९६३ मा हत्या भएको थियो भने उनका मामा जोन एफ केनेडी जुनियरको सन् १९९९ मा विमान दुर्घटनामा मृत्यु भएको थियो ।

आफ्नी आमालाई कहिल्यै दुःखी नबनाउने प्रयास गर्दागर्दै पनि आफ्नो मृत्युले परिवारमा अर्को वियोग थपिने कुराले आफूलाई मर्माहत बनाएको उनले लेखेकी थिइन् । उनले आफ्ना काका रोबर्ट एफ केनेडी जुनियरको स्वास्थ्य मन्त्रीमा भएको नियुक्तिप्रति पनि असन्तुष्टि जनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *