मेटाले नेपालमा कम्पनी दर्ताका लागि माग्यो कागजातको विवरण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १९

१९ भदौ, काठमाडौं । विश्वकै ठूला सामाजिक सञ्जालमध्ये एक फेसबुक सञ्चालक संस्था मेटाले नेपाल सरकारसँग कम्पनी दर्ताका लागि आवश्यक कागजात विवरण माग गरेको छ। मेटाको यो कदम सरकारद्वारा सूचीकृत नभएका सामाजिक सञ्जालहरूमा रोक लगाउने निर्णयसँगै आएको हो।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले मन्त्रालयमा सम्पर्क गरी दर्ता प्रक्रियाका लागि चाहिने कागजातबारे जानकारी माग गरेका हुन्।

‘पौने ५ बजे मेटाका एक प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर दर्ताका लागि आवश्यक कागजात विवरण माग्नुभएको थियो,’ ठाकुरले भने, ‘हामीले पाँच मिनेटभित्रै आवश्यक जानकारीसहितको इमेल पठाएका छौं।’

नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरू क्रमश: बन्द गर्ने नीति अघि बढाइरहेको छ। यसै सन्दर्भमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जाल बन्द गर्न पत्राचार गरिसकेको छ।

सरकारको यस निर्णयसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच चासो र छलफल बढिरहेको छ। मेटाको दर्ता प्रक्रिया सुरु हुने संकेतसँगै अन्य प्लेटफर्महरू पनि नेपाल सरकारको नियमअनुसार अगाडि बढ्न सक्ने आँकलन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *