स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन प्रक्रिया फेरि रोकियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

काठमाण्डौँ । नवीकरण नभएर स्वतः लाइसेन्स खारेजीमा परेको स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन गर्ने प्रक्रिया फेरि रोकिएको छ । सम्पत्ति तथा दायित्वको मूल्य निर्धारण गर्न गठित समितिका एक सदस्यले राजीनामा दिएपछि काम अघि बढ्न नसकेको हो ।

लामो समयको प्रयासपछि गठन भएको मूल्य निर्धारण समितिले पूर्णता नपाउँदा वर्षौंदेखि अल्झिएको स्मार्ट टेलिकमको व्यवस्थापन प्रक्रिया पुनः अन्योलमा परेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार समितिका सदस्य रहेका सूचीकृत सम्पत्ति मूल्याङ्कनकर्ता (भ्यालुएटर) रोशन प्रधानाङ्गले राजीनामा दिएका छन् । चार्टर्ड एकाउन्टेन्ट राजेश पराजुलीको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा भ्यालुएटरको भूमिका अपरिहार्य हुने भए पनि उनले समय अभावको कारण देखाउँदै राजीनामा दिएका हुन् ।

प्राधिकरण स्रोतका अनुसार समिति गठनको पत्र पाएपछि एक दिन मात्र उपस्थित भएका प्रधानाङ्गले आफू अन्य काममा व्यस्त रहेको र समय दिन नसक्ने भन्दै राजीनामा दिएका हुन् । उनले करिब एक महिनाअघि नै राजीनामा दिएको भए पनि पदपूर्ति हुन सकेको छैन ।

समितिका एक सदस्यको राजीनामासँगै प्राधिकरणले नयाँ सदस्य नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्राचार गरिसकेको छ । मन्त्रालयबाट प्राधिकरणलाई हालसम्म कुनै जवाफ आएको छैन ।

मन्त्रालयले अब समिति गठनका लागि सूचीमा नाम दर्ता गराएका वैकल्पिक उम्मेदवारहरूमध्येबाट नयाँ भ्यालुएटर नियुक्त गर्ने तयारी गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *