काठमाडौं । कृषि विकास बैंकले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गर्दै आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन कार्यक्रम’ एपमा जोडेको छ। यससँगै बैंकको एपबाट मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहक सरकारी लक्की ड्रमा सहभागी हुन पाउने भएका छन्।
कार्यक्रममा सहभागी हुन ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि कम्तीमा १०० रुपैयाँ बराबरको वस्तु वा सेवा खरिद गरी कृषि विकास बैंकको मोबाइल एपबाट मर्चेन्ट क्यूआर स्क्यान गरेर भुक्तानी गर्नुपर्नेछ। भुक्तानीपछि सम्बन्धित व्यवसायीबाट प्यान वा भ्याट बिल लिनुपर्ने व्यवस्था गरिएको छ।
कार्यक्रमअन्तर्गत योग्य कारोबार स्वतः लक्की ड्रमा समावेश हुनेछन्। दैनिक रूपमा एक जना विजेताले कर कट्टीपछिको १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँसम्मको बम्पर पुरस्कार प्रदान गरिनेछ।
ग्राहकले कृषि विकास बैंकको एपमा रहेको ‘IRD Incentive Program’ मार्फत आफूले गरेका योग्य कारोबार, पुरस्कारको अवस्था तथा लक्की ड्रको नतिजा हेर्न सक्नेछन्।
बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै कारोबारलाई औपचारिक र पारदर्शी बनाउन ग्राहकलाई क्यूआरमार्फत भुक्तानी गर्न तथा प्रत्येक खरिदमा प्यान वा भ्याट बिल सुरक्षित राख्न आग्रह गरेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्