सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत एक वर्षमा १५ करोड बढी राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा पर्यटन शुल्क बापत १५ करोड ५० लाख ९७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
गाउँपालिकाले आर्थिक वर्ष ०७९/ ०८० मा १० करोड ३६ लाख ५२ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष ०८०/०८१ मा ११ करोड तीन लाख ४६ हजार रुपैयाँ पर्यटक शुल्क बापतको राजश्व सङ्कलन गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिएका छन् ।
तीन आर्थिक वर्षको पर्यटन शुल्क तुलना गर्दा आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाले सबैभन्दा बढी पर्यटन शुल्क बापतको राजश्व सङ्कलन गरेको छ । सार्क राष्ट्र बाहेकका पर्यटकहरूबाट आर्थिक वर्ष २०८२/०८३ देखि प्रति व्यक्ति तीन हजार रुपैयाँ पर्यटन शुल्क लिने गरिएकाले राजश्व रकममा बढी देखिएको लेखा अधिकृत चेतनाथ कटेलले बताएका छन् ।
पर्यटन शुल्क बापत सङ्कलन भएको रकम पर्यटन पूर्वाधार विकासका साथै पर्यटकको स्वास्थ्य सेवाका लागि खर्च गरिने खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले बताए । शेर्पाका अनुसार यसै वर्षमा पालिकाको विभिन्न स्थानमा इमर्जेन्सी सेल्टर निर्माण गरिने गाउँपालिकाको योजना रहेको छ भने वातावरणीय सरसफाइमा समेत गाउँपालिकाले जोड दिइरहेको छ । पर्यटकको सुविधाका लागि पर्यटन पदमार्ग निर्माण गर्नका साथै चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा रहेको गाउँपालिका अध्यक्ष शेर्पाको भनाइ छ ।
आर्थिक वर्ष २०८२/०८३ मा ४५ हजार ६ सय ६ जना विदेशी र आठ हजार पाँच सय ६५ जना सार्क राष्ट्रका गरी कुल ५४ हजार एक सय ७१ जना पर्यटकहरूले खुम्बु क्षेत्र भ्रमण गरेको गाउँपालिकाले जनाएको छ । सार्क राष्ट्र र चीनका पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँ र सार्क बाहेकका अन्य मुलुकका पर्यटकहरूबाट प्रतिव्यक्ति तीन हजार रुपैयाँ पर्यटन शुल्क लिने गरिएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्