चौधरी ग्रुपले सुरु गर्‍यो नेपालमा नानाे युरिया झोल मलको बिक्री

DaksuMedia दाक्सु मिडिया
|
२०७९ कार्तिक २७

२७ कात्तिक, काठमाडौं । चाैधरी ग्रुप अन्तर्गतको सीजी एग्राे कम्पनीले नेपाली बजारमा नानाे युरिया झोल मल बिक्री सुरु गरेकाे छ । आइतबार एक कार्यक्रमकाे आयाेजना गर्दै सीजी एग्राेले सीजी इफ्काे नामक नानाे युरिया मल भित्र्याएको घाेषणा गरेको हाे । भारतका पूर्व केन्द्रीय रेल्वे मन्त्री सुरेस प्रभु र चाैधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चाैधरीले उक्त मल नेपाली बजारमा भित्र्याइएको घाेषणा गरे ।

सीजी एग्राेले बिक्री गर्ने मल भारतीय फार्मर फर्टिलाइजर काे-अपरेटिभ लिमिटेडले उत्पादन गरेकाे हाे । पानीमा मिसाएर वनस्पतिको पातमा छर्किने याे मलले नेपालमा रासायनिक मल अभावलाई चिर्ने सीजी एग्राेकाे दावी छ ।

हाल परम्परागत रुपमा प्रयाेग गर्दै आएकाे एक बाेरा (५० किलाे ) युरिया मल बराबर यस्तो मल ५०० एमएल भए पुग्ने कम्पनीले जनाएको छ । स्प्रे वा ड्राेनमार्फत छर्न सकिने यस्तो मल दाना युरिया भन्दा सस्तो हुने कम्पनीको दावी छ। नानाे युरियाले जमिनकाे उत्पादकत्व बढ्ने र मलकाे प्रयाेग सही ठाउँमा हुने दावी गरिएकाे छ । नेपालमा मल अभाव चरमउत्कर्षमा पुगेपछि गत फागुनमा सरकारले नानाे मल प्रयाेगकाे अनुमति दिएकाे थियो ।

गत वर्ष नानाे मलकाे प्रयाेगबारे कृषि अनुसन्धान परिषद् नार्कले गरेको परीक्षणमा निकै प्रभावकारी देखिएको थियाे । नार्कका वैज्ञानिकहरुले स्थानीय ज्यापु काउलीमा गरेको प्रयोगमा यस्तो मलबाट हुने कुल लागत अन्य मलबाट भन्दा प्रतिहेक्टरमा ८ हजार १५० रुपैयाँले सस्तो पाइएको थियो । यस्तै उत्पादनका हिसाबले पनि झोल बढी प्रभावकारी देखिएको नार्ककाे दावी छ ।

नार्कले गरेको परीक्षणमा झोल मल प्रयोगगर्दा प्रतिहेक्टर ४.६७ मेट्रिकटन बढी उत्पादन पाइएको छ । नार्कका अनुसार दाना युरिया मल एक बोराबराबर यस्तो आधा लिटरको एक बट्टा मललाई भारतीय रुपैयाँ २५० पर्ने उल्लेख छ । अहिले एक बोरा दाना युरिया मललाई ७५० रुपैयाँ पर्छ । नानाे युरिय मलकाे प्रतिलिटर मूल्य नेपाली बजारमा ५०० सयदेखि ६ सय रुपैयाँ प्रतिलिटर पर्ने र याे दाना युरिया भन्दा पाँच गुणा सस्तो हुने कम्पनीकाे दावी छ ।

भारत लगायतका बजारमा व्यापक प्रयोग भएको यस्तो मल आयात अनुमति माग्दै गत वर्ष नै दुई वटा कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निवेदन दिए पनि कानुन अभावमा सरकारले अनुमति जारी गरेकाे थिएन । यसअघि नेपालमा गोप्य रुपमा केही मात्रामा यस्तो मल नेपालका चिया किसानहरुले प्रयोग गरेका थिए । झोल युरियाको नयाँ अनुमतिसँगैं नेपालमा रासायनिक मल आयात अनुमति हुने मलको संख्या ५३ पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *