रसुवा । भोटेकोशी बाढीपछि रसुवाका सयौँ विद्यार्थीको पढाइसँगै संरक्षणको विषय पनि चुनौतीपूर्ण बनेको छ। बाढीमा २०१ जना अभिभावक बेपत्ता भएपछि विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका अभिभावकविहीन अवस्थामा पुगेका छन्।
प्याब्सन रसुवाका अनुसार बाढीमा ३८ जना विद्यार्थीसमेत बेपत्ता छन्। गोसाइँकुण्ड बोर्डिङका १९, मोडर्न ट्रिनिटीका १० र हाइल्याण्ड आवासीय माध्यमिक विद्यालयका नौ विद्यार्थी बेपत्ता भएका हुन्।
बाढीबाट विद्यालयका भवन तथा अन्य संरचनामा समेत क्षति पुगेको छ। मोडर्न ट्रिनिटीका संस्थापक प्रधानाध्यापक सुरोज डङ्गोल र एक शिक्षिका पनि बेपत्ता रहेको जनाइएको छ।
जिल्लाका सात संस्थागत विद्यालयमध्ये पाँचवटा पुनः सञ्चालनमा आएका छन्। प्रभावित विद्यार्थीलाई निरन्तर शिक्षाको व्यवस्था गर्न प्याब्सनले अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क पठनपाठन तथा आवश्यक सहयोग जुटाउने पहल गरिरहेको जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्