भारतमा खानेतेलको भन्सार घट्यो, नेपाली उद्योगमा दबाब बढ्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ८

काठमाडौं । भारतले चाडपर्वको मुखमा पाम, सोयाबिन र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्क भारी कटौती गरेको छ । नयाँ दर बिहीबारदेखि लागू भएको हो ।

भारतले कच्चा सूर्यमुखी तेलको भन्सार शुल्क १० प्रतिशतबाट शून्यमा झारेको छ भने प्रशोधित सूर्यमुखी तेलको शुल्क ३२.५ प्रतिशतबाट २२.५ प्रतिशतमा कायम गरेको छ ।

त्यस्तै, कच्चा पाम र सोयाबिन तेलको शुल्क १० प्रतिशतबाट ५ प्रतिशत तथा प्रशोधित पाम र सोयाबिन तेलको शुल्क ३२.५ प्रतिशतबाट घटाएर २७.५ प्रतिशत बनाइएको छ ।

भारतको यो निर्णयले नेपालका खानेतेल उद्योगमा प्रत्यक्ष असर पर्ने देखिएको छ । नेपाली उद्योगले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी प्रशोधन गरेर साफ्टाअन्तर्गत भारतमा निर्यात गर्दै आएका छन् ।

भारतमा कच्चा तेलको आयात सस्तो भएपछि नेपाली प्रशोधित तेलले भारतीय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने उद्योगीहरूको भनाइ छ । यसबाट मोरङ–सुनसरी, पर्सा र रुपन्देहीका खानेतेल उद्योगमा उत्पादन कटौती तथा रोजगारीमा असर पर्न सक्ने जोखिम छ ।

त्यस्तै, भारतमा तेल सस्तो र नेपालमा तुलनात्मक रूपमा महँगो भए खुला सीमाबाट अवैध रूपमा खानेतेल भित्रिने जोखिमसमेत बढ्न सक्ने सरोकारवालाले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *