पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु, वर्षौंदेखिको सपना पूरा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ८

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले नियमित व्यावसायिक उडान सुरु गरेसँगै पोखरा प्रत्यक्ष अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएको छ।

बुधबार साँझ दुबईबाट आएको फ्लाई दुबईको बोइङ जहाज ६ बजेर १८ मिनेटमा पोखरा अवतरण गरेको थियो। १ सय १३ यात्रु लिएर आएको जहाजलाई विमानस्थलमा पानीको फोहोरा र उत्साहपूर्ण स्वागत गरिएको थियो।

सोही जहाज साँझ ७ बजेर ५४ मिनेटमा १ सय ५२ यात्रु लिएर दुबई फर्किएको थियो। पोखरा–दुबई उडानमा करिब ४ घण्टा ३० मिनेट र दुबई–पोखरा उडानमा करिब ४ घण्टा ५० मिनेट लाग्ने बताइएको छ।

नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि विदेशबाट फर्किने नेपालीलाई काठमाडौं हुँदै लामो यात्रा गर्नुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ। पहिलो उडानबाट म्याग्दी, स्याङ्जा, तनहुँ, कास्कीलगायतका यात्रु पोखरा ओर्लिएका थिए।

पोखराका पर्यटन व्यवसायी तथा स्थानीयले उडानलाई वर्षौंदेखिको प्रतीक्षाको अन्त्यका रूपमा लिँदै यसको निरन्तरतामा जोड दिएका छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नियमित उडान सुरु हुनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन भए पनि लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको थिएन। यसअघि विमानस्थलबाट केही चार्टर उडान सञ्चालन भएका थिए।

दुबई प्रमुख अन्तर्राष्ट्रिय हवाई हब भएकाले पोखराबाट दुबई हुँदै मध्यपूर्व, युरोपलगायतका गन्तव्यमा यात्रा गर्न सहज हुने पर्यटन व्यवसायीको अपेक्षा छ। उनीहरूले नियमित उडानले पर्यटन, रोजगारी तथा समग्र क्षेत्रको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

अब भने पोखरेलीको मुख्य चासो उडानको निरन्तरतामा छ। यात्रुको माग, पर्यटन प्रवर्द्धन, हवाई रुट तथा सरकारी समन्वयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आगामी अन्तर्राष्ट्रिय उडान विस्तारलाई प्रभाव पार्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *