काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७औँ सभा अर्थात् सिनेट बैठक कहिले बस्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन। गत असारमा बस्नुपर्ने बैठक नबस्दा विश्वविद्यालयका नीतिगत, प्रशासनिक तथा वित्तीय काम प्रभावित भएका छन्।
पछिल्लोपटक त्रिवि सभा २०८२ असार २६ गते बसेको थियो। विश्वविद्यालयको वार्षिक बजेट स्वीकृति, दीक्षान्त समारोहका लागि ग्रेस लिस्ट पारित, दीर्घकालीन योजना तथा नयाँ नियम निर्माणलगायतका काम सिनेट बैठकसँग जोडिएका छन्।
बैठक नबस्दा वार्षिक बजेट तथा कार्यक्रम पारित हुन नसकेको र विकास निर्माण, मर्मतसम्भार तथा भुक्तानी प्रक्रियामा समेत असर परेको जनाइएको छ। त्यस्तै नयाँ अनुसन्धान, शैक्षिक कार्यक्रम र उच्च शिक्षासम्बन्धी नीति निर्माणका कामसमेत प्रभावित भएका छन्।
त्रिवि प्रवक्ता नविन्द्र भण्डारीले ६७औँ सभा अझै नबसेको पुष्टि गर्दै छिट्टै बैठक बस्ने बताए। केही दिनअघि उपकुलपति प्रा.डा. भोला थापाले पनि आन्तरिक बजेट निर्माणको तयारी पूरा भइसकेको र सिनेटमार्फत छिट्टै बजेट पारित गरिने बताएका थिए।
त्रिवि सभा ४९ सदस्यीय हुने कानुनी व्यवस्था भए पनि हालसम्म २१ जना सदस्य मात्र पूर्ति भएको जनाइएको छ। रिक्त सदस्यहरूको मनोनयन हुन नसक्दा पनि सभा सञ्चालनमा अन्योल देखिएको छ।
त्रिभुवन विश्वविद्यालय ऐन २०४९ (संशोधन २०८२) अनुसार विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा विश्वविद्यालय सभा रहने व्यवस्था छ। कुलपति सभाको अध्यक्ष, सहकुलपति उपाध्यक्ष र उपकुलपति सदस्य रहने व्यवस्था छ। सभा सामान्यतः वर्षमा दुई पटक बस्ने प्रावधान रहेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्