काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा निस्किएका छन् ।
विनाशकारी बाढी आएको २१ दिनपछि नेपाल नेतृत्वको टोली प्रभावित क्षेत्र पुगेको हो । टोलीले बाढीपीडितलाई राहत वितरण गर्नुका साथै क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्ने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताए ।
टोलीले धादिङको गल्छी र महेशदोभानको अनुगमन गरिसकेको छ । अहिले टोली नुवाकोटतर्फ गएको र बेत्रावतीसम्म पुगेर काठमाडौं फर्किने ज्वालाले जानकारी दिए ।
भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिमपहिरो आएपछि भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो ।
नेपाल नेतृत्वको टोलीमा प्रवक्ता ज्वाला, पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी छन् । यसअघि पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बाढी प्रभावित क्षेत्रमा पुगेका थिए ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्