काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई नतिजामुखी ढङ्गले अघि बढाउँदै विद्युत् सेवा थप भरपर्दो, गुणस्तरीय र ग्राहक केन्द्रित बनाउन निर्देशन दिएका छन् ।
प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई बुधबार पद तथा गोपनीयताको शपथ गराउँदै मन्त्री श्रेष्ठले राज्यका निकाय जनताका सेवक भएकाले सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध भई पुनः सञ्चालनमा आएको विद्युत् प्रणालीलाई दिगो र भरपर्दो बनाउन विशेष ध्यान दिन उनले निर्देशन दिए । विद्युत्को माग र आपूर्तिको नियमित विश्लेषण तथा प्रक्षेपण गरी घरेलु तथा औद्योगिकलगायत सबै ग्राहकले २४सै घण्टा गुणस्तरीय विद्युत् पाउने अवस्था सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री श्रेष्ठले उपलब्ध स्रोत, साधन र जनशक्तिको पारदर्शी, मितव्ययी तथा दक्ष उपयोग गर्न तथा संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।
त्यस्तै, प्रसारण लाइन निर्माण, वितरण प्रणाली सुधार, रणनीतिक आयोजनाको निर्माण तथा विपद्का कारण क्षतिग्रस्त विद्युत् आयोजनाको पुनर्निर्माणलाई तीव्रता दिन उनले आग्रह गरे ।
मन्त्रालय, प्राधिकरण र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी संस्थालाई थप उत्तरदायी र परिणाममुखी बनाउनुपर्ने मन्त्री श्रेष्ठले बताए ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्