चालक अर्जुन दोङको मृत्यु प्रकरणमा यातायात व्यवसायी र मजदुरको ९ बुँदे माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ६

काठमाडौं । त्रिपुरेश्वरमा बस चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनाबारे यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले छानबिन र क्षतिपूर्तिको माग गरेका छन्।

मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन्।

विज्ञप्तिअनुसार असोज ५ गते मूलपानीबाट थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बा.५ ख ४२७४ नम्बरको बस त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि पुगेपछि आफ्नै साइडमा रहेको मोटरसाइकलका कारण बाटो अवरुद्ध भएको थियो। चालक दोङले हर्न बजाएपछि ट्राफिक प्रहरीले बस रोकी कागजात माग्दै कारबाही गर्न खोजेको र त्यसपछि विवाद भएको संघसंस्थाहरूको दाबी छ।

ट्राफिक प्रहरीले यात्रु ओरालेर करिब दुई घण्टा बस नियन्त्रणमा राखेको तथा चालकलाई हप्काएको उनीहरूको आरोप छ। बसलाई बग्गीखाना लैजान खोज्दा दोङले प्रतिवाद गरेको र त्यसक्रममा उनले आत्मदाह प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ।

संघसंस्थाहरूले ट्राफिक प्रहरीको नियन्त्रणमा रहेका बेला चालकले आत्मदाह प्रयास गर्नु गम्भीर लापरबाही भएको दाबी गरेका छन्।

उनीहरूले मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था गर्न तथा जलेर पूर्ण रूपमा क्षतिग्रस्त बसधनीलाई समेत क्षतिपूर्ति दिन माग गरेका छन्।

त्यस्तै, सरोकारवालासहितको न्यायिक छानबिन समिति गठन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कारबाही गर्न, यातायात श्रमिकलाई श्रम ऐनअनुसार रोजगार सम्झौता र सामाजिक सुरक्षामा आबद्ध गर्न माग गरिएको छ।

ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार तथा हैरानीविरुद्ध २४ घण्टे हेल्पलाइन र द्रुत सुनुवाइ संयन्त्र स्थापना गर्न तथा ट्राफिक प्रहरीको कार्यशैलीमाथि छानबिन गर्न पनि उनीहरूले माग गरेका छन्।

माग पूरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी दिँदै ६ वटा महासंघ तथा संघका अध्यक्षहरू रहेको संयुक्त संघर्ष समिति गठन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *