काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री शाहको विदेश भ्रमणका क्रममा यसपटक विगतको भन्दा फरक दृश्य देखिने भएको छ। उनले नेपाली सेनाको सलामी नलिने भएका छन् भने मन्त्री, सरकारी अधिकारी तथा उच्चपदस्थ कर्मचारी विमानस्थल पुगेर सामूहिक बिदाइ गर्ने परम्परा पनि हटाइने भएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार विदेश जाँदा र फर्किँदा सरकारी पदाधिकारी तथा कर्मचारी विमानस्थलमा लामबद्ध भएर बिदाइ तथा स्वागत गर्ने परम्परा अन्त्य गरिनेछ।
प्रधानमन्त्री शाह आज साँझ करिब ७ बजे अमेरिकाका लागि प्रस्थान गर्ने कार्यक्रम छ। उनी विमानस्थल पुग्नुअघि नै भ्रमण टोलीका सदस्यहरू त्यहाँ पुगिसक्नेछन्।
शाहले भीआईपी कक्षको बाटो प्रयोग गरी विमानतर्फ जानेछन्। तर भीआईपी कक्षमा समय नबिताई सिधै विमानमा चढ्ने तयारी रहेको स्रोतले जनाएको छ।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्यासँगै जलवायु न्यायको विषय उठाउनेछन्।
यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा तथा फर्किँदा ठूलो संख्यामा सरकारी अधिकारी तथा कर्मचारी विमानस्थल पुग्ने गरेका थिए। तर विपद्को समयमा स्वागत तथा बिदाइमा हुने यस्तो तामझाम नगर्ने प्रधानमन्त्री शाहको नीति रहेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्