अस्पतालको लापरबाहीले बबिताले फुटपाथमै बच्चा जन्माइन्,कर्मचारीमाथि कारबाही सिफारिस

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १

काठमाडौं । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालबाहिर बबिता पासवानले बच्चा जन्माएको घटनाको छानबिन समितिले अस्पताल प्रशासन, स्वास्थ्यकर्मी र आमा सुरक्षा कार्यक्रम कार्यान्वयनमा कमजोरी औंल्याएको छ।

प्रसूति सेवाका लागि अस्पताल पुगेकी पासवानले पैसा नभएका कारण २५ भदौमा सडक पेटीमा बच्चा जन्माएकी थिइन्। समितिले अस्पताल पुगेकी गर्भवतीलाई आवश्यक उपचार तथा परामर्श दिन नसकेको र लामो समयसम्म अस्पतालबाहिर रहँदा समेत उनको अवस्थाबारे खोजी नगरेको भन्दै घटनाका बेला ड्युटीमा रहेका चिकित्सक, नर्स, प्यारामेडिक्सलगायत कर्मचारीमाथि विभागीय कारबाही सिफारिस गरेको छ।

समितिका अनुसार अस्पतालका क्लिनिकल जनशक्तिलाई आमा सुरक्षा कार्यक्रमअन्तर्गत उपलब्ध सेवाबारे पर्याप्त जानकारी नभएको देखिएको छ। सेवाग्राही र स्वास्थ्यकर्मीबीचको बुझाइको कमी, गरिबी तथा स्वास्थ्यसम्बन्धी जानकारीको अभावले पनि घटना निम्तिन सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रसूति सेवा मात्र नभई आवश्यक प्रयोगशाला परीक्षणसमेत निःशुल्क हुने व्यवस्था स्पष्ट गर्नुपर्ने समितिको निष्कर्ष छ। आमा सुरक्षा कार्यक्रमको सेवाको दायरा स्पष्ट र व्यवहारिक बनाउन नीतिगत सुधार आवश्यक रहेको पनि समितिले जनाएको छ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित टोलीले २५ देखि २७ भदौसम्म स्थलगत अध्ययन गरी प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *