कृष्णभिरमा भोलिदेखि दुईतर्फी यातायात सञ्चालनको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३१

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा भोलि बिहीबार बिहान ६ बजेदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ ।

कृष्णभिरमा सडक भासिएपछि करिब साढे दुई सातादेखि नियमित यातायात प्रभावित हुँदै आएको थियो । सडक मर्मत गरी नयाँ ट्र्याक निर्माण गरिएसँगै राजमार्गमा यातायात पुनः सञ्चालन गर्न लागिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक पुनः सञ्चालनमा आएसँगै पृथ्वी राजमार्ग हुँदै पूर्ववत् रूपमा सेवा सञ्चालन गर्न आफ्ना सदस्य संघ, समिति, कम्पनी तथा प्रालिलाई जानकारी गराएको छ ।

महासंघका अनुसार १८ दिनसम्म राजमार्गमा नियमित यातायात सञ्चालन हुन नसक्दा यातायात व्यवसायीले करोडौं रुपैयाँ घाटा बेहोर्नुपरेको छ । यात्रुलाई समेत निर्धारित समयमा गन्तव्यमा पुर्‍याउन कठिनाइ भएको महासंघले जनाएको छ ।

कृष्णभिरमा गत भदौ १४ गते करिब १ सय मिटर सडक भासिएको थियो । त्यसपछि नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा ल्याउन १८ दिन लागेको हो ।

यस अवधिमा वैकल्पिक मार्ग प्रयोग गरेर यातायात सञ्चालन गरिए पनि ठूला सवारीसाधन तथा लामो दूरीका यातायात सेवा प्रभावित हुँदै आएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *