सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, नेपाली युवकविरुद्ध मुद्दा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३१

सिड्नी । पश्चिमी सिड्नीको अर्बनमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय नेपाली युवक सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।

अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ ।

मंगलबार दिउँसो करिब २ बजे अर्बनको नर्मनबी रोडस्थित ड्राइभवेमा खेलिरहेकी बालिकालाई कारले ठक्कर दिएको थियो । घटनापछि आपत्कालीन सेवाका टोली घटनास्थल पुगेका थिए ।

गम्भीर अवस्थामा रहेकी बालिकालाई तत्काल वेस्टमिड अस्पताल लगिएको थियो । तर, केही घण्टापछि उनको मृत्यु भएको थियो ।

घटनामा अधिकारीलाई कुनै चोटपटक लागेको थिएन । अनिवार्य परीक्षणका लागि उनलाई अर्बन अस्पताल लगिएको थियो । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

घटनाको २४ घण्टाभन्दा कम समयपछि अधिकारी बुधबार बर्वुड स्थानीय अदालतमा उपस्थित भएका थिए । उनले अदालतमा आफूमाथि लागेको आरोप स्वीकार वा अस्वीकार गरेका छैनन् ।

अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रश्न गर्दा अधिकारीले कागजको पानाले आफ्नो अनुहार छोप्ने प्रयास गरेको रिपोर्टमा उल्लेख छ । उनीसँग केही समर्थक पनि देखिएका थिए ।

अधिकारीका वकिल ड्यानी इडले घटनालाई ‘अत्यन्तै दुःखद’ बताएका छन् । उनका अनुसार अधिकारी निकै तनावमा छन् र परिवार तथा उनीहरूको अवस्थाबारे चिन्तित छन् ।

अधिकारी अहिले जमानतमा छन् । उनलाई आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुन आदेश दिइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *