काठमाडौँ । काठमाडौँको क्षेत्रपाटीबाट चोरी भएको मोटरसाइकल ट्राफिक प्रहरीले १२ घण्टामै फेला पारेको छ।
सोमबार बिहान पौने २ बजे क्षेत्रपाटीबाट सुनिल रायमाझीले प्रयोग गर्दै आएको बागमती प्रदेश–०२–०३७ प ३५१५ नम्बरको बजाज पल्सर एनएस मोटरसाइकल चोरी भएको थियो। रायमाझीले मोटरसाइकलमा जीपीएस ट्र्याकिङ जडान गरेका थिए।
जीपीएसको सहयोगमा खोजी गर्दा सोही दिन दिउँसो बुढानीलकण्ठ नगरपालिका–७ भंगालबाट मोटरसाइकलसहित चोरीमा संलग्न दुई जनालाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा नुवाकोटका ३२ वर्षीय रुबिन तामाङ र काभ्रेका १९ वर्षीय अमन लामा छन्। उनीहरूविरुद्ध चोरी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, ट्राफिक प्रहरीले मंगलबार चोरी भएर फेला परेका २८ मोटरसाइकल र २२ स्कुटरसहित ५० वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। चालु आर्थिक वर्षमा चोरी भएका १६६ वटा सवारी साधन फेला परिसकेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्