प्रधानमन्त्रीको सचिवालय सदस्य हुँ भन्दै सरकारी कार्यालय अनुगमन गर्ने व्यक्ति पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
भदौ ३०, २०८३

विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य भएको दाबी गर्दै सरकारी कार्यालय अनुगमन गर्ने एक युवक पक्राउ परेका छन्।

झापाको हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मालाई सरकारी कार्यालय, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थामा धम्कीपूर्ण शैलीमा प्रस्तुत भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरी पाँच दिनको म्याद थप गरेको छ।

प्रहरीका अनुसार विश्वकर्माले आफू रास्वपाको नेता र प्रधानमन्त्रीको सचिवालय सदस्य भएको बताएर सरकारी कार्यालयमा प्रवेश तथा सार्वजनिक सरोकारका बैठकमा पहुँच बनाएका थिए। यही परिचयका आधारमा जिल्ला प्रशासन कार्यालयबाट अनुगमनका लागि सरकारी गाडीसमेत उपलब्ध गराइएको बताइएको छ।

हल्दिबारी गाउँपालिका पुगेर फर्किएपछि उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उनी रास्वपाको केन्द्रीय सदस्य नरहेको र प्रधानमन्त्रीको सचिवालयमा पनि नरहेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दबाब र धाकधम्की दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो। उनले झुटो परिचय दिएर लाभ लिएको वा कसैलाई हानिनोक्सानी पुर्‍याएको भए प्रहरीमा जानकारी गराउन आग्रह गरिएको छ। सरकारी गाडी प्रयोग गरेको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *