काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारण पत्ता लगाउन वैज्ञानिक अध्ययन गर्ने भएको छ ।
बाढी कसरी उत्पन्न भयो, त्यससँग जोडिएका हिमाली भू–जोखिम के थिए र घटनामा जलवायु परिवर्तनको भूमिका कति थियो भन्ने विषयमा वैज्ञानिक प्रमाणसहित अध्ययन गर्न मन्त्रालयले विज्ञ समिति गठन गर्ने तयारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार सोमबार विज्ञहरूसहितको समिति गठन गरिनेछ । जल तथा ऊर्जा आयोगको सचिवालयले रसुवाको घटनालाई सामान्य बाढी वा अतिवृष्टिका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदीय र जलविज्ञानसम्बन्धी जोखिम एकपछि अर्को रूपमा जोडिएर विकसित भएको सम्भावित ‘श्रृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गर्न प्रस्ताव गरेपछि मन्त्रालयले वैज्ञानिक अध्ययन अघि बढाउन लागेको हो ।
जल तथा ऊर्जा आयोगको प्रारम्भिक अध्ययनअनुसार बाढीको उद्गमस्थल कहाँ थियो, कुन भौतिक प्रक्रियाबाट विपद् सुरु भयो र ती प्रक्रिया कसरी भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा हालसम्म पर्याप्त वैज्ञानिक प्रमाणबाट पुष्टि हुन सकेको छैन ।
त्यसैले जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक पुनर्निर्माण आवश्यक रहेको आयोगको निष्कर्ष छ ।
तीन चरणमा अध्ययन
मन्त्रालयका अनुसार अध्ययन तीन चरणमा गरिनेछ ।
पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तटीय क्षेत्रसम्म बाढीको घटनाक्रम र भौगोलिक क्षतिको समयक्रम अध्ययन गरिनेछ । यस क्रममा हिमनदी, चट्टान तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको अन्तरसम्बन्धसमेत विश्लेषण गरिनेछ ।
दोस्रो चरणमा बाढीका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ ।
तेस्रो चरणमा मानवजनित जलवायु परिवर्तनले यस्ता जोखिमको सम्भावना, तीव्रता वा घटनाअघि रहेको जोखिमको अवस्थालाई कति प्रभावित गरेको थियो भन्ने विषय वैज्ञानिक रूपमा मूल्याङ्कन गरिनेछ ।
२०२४ को बाढीसँग प्रत्यक्ष तुलना नगरिने
यसअघि सन् २०२४ सेप्टेम्बर २६ देखि २८ सम्म नेपालमा भएको अत्यधिक वर्षा, बाढी तथा पहिरोबारे अन्तर्राष्ट्रिय वैज्ञानिक समूह ‘वर्ल्ड वेदर एट्रिब्युसन’ले अध्ययन गरेको थियो । उक्त अध्ययनले सो घटनामा मानवजनित जलवायु परिवर्तनको प्रभाव रहेको निष्कर्ष निकालेको थियो ।
तर रसुवा–भोटेकोशीको घटना फरक प्रकृतिको हुन सक्ने भएकाले २०२४ को घटनासँग प्रत्यक्ष तुलना गरेर पूर्वनिर्धारित निष्कर्ष निकाल्न नहुने मन्त्रालयको धारणा छ । घटनाको वास्तविक कारण वैज्ञानिक प्रमाणका आधारमा मात्रै निर्धारण गरिनेछ ।
बहुविषयका विज्ञ सहभागी हुने
प्रस्तावित अध्ययनमा हिमनदी तथा हिममण्डल विज्ञान, भूगर्भशास्त्र, भूरूपविज्ञान तथा पहिरो विज्ञान, जलविज्ञान तथा नदी जलयान्त्रिकी, मौसम विज्ञान तथा जलवायु विज्ञान, रिमोट सेन्सिङ, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तनसम्बन्धी विज्ञ सहभागी गराउने तयारी छ ।
भोटेकोशी–ल्हेन्दे नदी प्रणाली सीमापार प्रकृतिको भएकाले चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक सूचनालाई समेत अध्ययनमा समेट्ने योजना छ । आवश्यकताअनुसार वैज्ञानिक सहकार्य र तथ्यांक आदानप्रदानको संयन्त्र विकास गर्ने प्रस्तावसमेत गरिएको छ ।
विज्ञ समितिले सम्भावित उद्गमस्थलको स्थलगत निरीक्षणसमेत गर्नेछ । स्थलगत अध्ययनका क्रममा तस्वीर तथा भिडियो अभिलेख तयार गर्नुका साथै आवश्यकताअनुसार ड्रोन र स्याटेलाइटबाट प्राप्त विवरणसमेत प्रयोग गरिनेछ ।
मन्त्रालयले प्रस्तावित उच्चस्तरीय वैज्ञानिक समितिलाई अध्ययन पूरा गर्न दुई महिनाको समय दिने गरी कार्यादेश तयार गरिरहेको जनाएको छ ।
वैज्ञानिक अध्ययनबाट बाढीको वास्तविक उत्पत्ति, जोखिमको श्रृंखला र जलवायु परिवर्तनको सम्भावित प्रभावबारे प्रमाणमा आधारित निष्कर्ष निकाल्ने सरकारको तयारी छ ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्