भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजारसम्म सहायता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २८

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक सहायता उपलब्ध गराउने भएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित परिवारलाई यस्तो सहायता उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् ।

सरकारको निर्णयअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ । चार जनाभन्दा बढी सदस्य भएका परिवारका लागि प्रत्येक थप सदस्य बराबर मासिक २ हजार रुपैयाँ थप गरिनेछ ।

मन्त्री तिमिल्सिनाका अनुसार, सरकारले उपलब्ध गराउने रकम लिन नचाहने परिवारका लागि स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प समेत उपलब्ध गराएको छ ।

सहायता उपलब्ध गराउन आवश्यक विवरण संकलनका लागि सम्बन्धित स्थानीय तहमा फारम पठाइसकिएको उनले बताएका छन् ।

सरकारले भोटेकोशी बाढीबाट भएको प्रारम्भिक क्षति तथा नोक्सानीको मूल्याङ्कन सम्पन्न गरिसकेको जनाएको छ । अहिले विस्तृत आवश्यकता मूल्याङ्कनको काम भइरहेको छ ।

विस्तृत मूल्याङ्कनका आधारमा आवश्यक स्रोत सुनिश्चित गरी पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई तीव्र रूपमा अघि बढाइने मन्त्री तिमिल्सिनाले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *