काठमाडौं । एमसीए–नेपालले १८ किलोमिटर लामो प्रसारण लाइनको निर्माण शिलान्यास भएको नौ महिनामै सम्पन्न गरेको छ। यो एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको छ।
नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माणाधीन न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण आइतबार सम्पन्न भएको हो।
तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिन आर थम्प्सनले १० मंसिर २०८२ मा उक्त प्रसारण लाइनको शिलान्यास गरेका थिए।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार नेपालको विद्युत् आवश्यकता र प्रसारण पूर्वाधारको अवस्थालाई ध्यानमा राख्दै निर्माण कार्यलाई तीव्रता दिइएको हो।
यस आयोजनाको निर्माणका लागि भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग १ करोड २३ लाख ८० हजार अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो।
बुटवल–गोरखपुर सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएसँगै नेपाल–भारत विद्युत् प्रसारण पूर्वाधारमा थप महत्वपूर्ण उपलब्धि हासिल भएको छ।
एमसीसीको अनुदानअन्तर्गत नेपालमा कुल ३१५ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन निर्माण हुँदैछ। यससँगै ४०० केभीका सबस्टेसन तथा सडक सुधारका आयोजना पनि कार्यान्वयन भइरहेका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्