मागपत्र प्रमाणीकरण प्रक्रिया छिटो गर्न नेपाली नियोगलाई सरकारको निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २८

काठमाडौँ । वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकबाट आउने श्रमिक मागपत्र प्रमाणीकरण प्रक्रियालाई छिटो, सहज र झन्झटमुक्त बनाउन सरकारले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार परराष्ट्र मन्त्रालयमार्फत सबै नेपाली कूटनीतिक नियोगलाई आवश्यक निर्देशन दिइएको हो।

मन्त्रालयका अनुसार रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि आवेदन दिँदा थप कागजात आवश्यक भएमा सम्बन्धित नेपाली नियोगले त्यसको सम्पूर्ण विवरण एकैपटक रोजगारदाता कम्पनीलाई उपलब्ध गराउनुपर्नेछ। पटक–पटक कागजात मागेर प्रक्रिया लम्ब्याउन नहुने मन्त्रालयले स्पष्ट पारेको छ।

त्यसैगरी, मागपत्र प्रमाणीकरणको काम प्रचलित कानुनले तोकेको समयसीमाभित्रै सम्पन्न गर्न पनि नियोगहरूलाई निर्देशन दिइएको छ।

यसअघि नेपाली नियोगहरूले आवश्यक कागजात पटक–पटक माग्दा मागपत्र प्रमाणीकरणमा ढिलाइ हुने र रोजगारदाता कम्पनीले अनावश्यक झन्झट व्यहोर्नुपरेको गुनासो आउने गरेको थियो।

गन्तव्य मुलुकस्थित नेपाली नियोगबाट मागपत्र प्रमाणीकरणमा लामो समय लाग्ने तथा अपुग कागजातबारे एकैपटक जानकारी नदिने समस्या समाधान गर्न सरकारले यस्तो व्यवस्था अघि सारेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *