बाढीले अवरुद्ध कृष्णभीर सडक खुलाउन तीव्र काम, १० मेसिन परिचालन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २६

काठमाडौं । रसुवामा आएको बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन कृष्णभीर क्षेत्रमा आठौँ दिन पनि तीव्र गतिमा काम भइरहेको छ।

सडकलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने उद्देश्यले करिब १५ जना प्राविधिकको सुपरिवेक्षणमा १० वटा मेसिन तथा उपकरण परिचालन गरी दैनिक १४ घण्टासम्म निरन्तर काम भइरहेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।

कृष्णभीरमा सडक सञ्चालनका लागि ग्रेड कटिङ, स्लोप मिलाउने तथा पहुँच सडक निर्माणको काम भइरहेको छ। सवारी आवागमनलाई सुरक्षित र सहज बनाउन सडकको लिमिटिङ ग्रेडियन्ट कायम गर्ने तयारी भइरहेको योजनाका इन्जिनियर धिरज ढकालले जानकारी दिए।

सडकको प्रारम्भिक संरचना तयार भएपछि नाली निर्माण, सब–सर्फेस ड्रेनेज र स्लोप प्रोटेक्सनको काम अघि बढाइनेछ। दीर्घकालीन रूपमा सडकलाई सुरक्षित र व्यवस्थित बनाउन यी संरचनात्मक काम गरिने योजनाले जनाएको छ।

अत्यावश्यक सवारीलाई प्राथमिकता

राजधानीको आपूर्ति व्यवस्थालाई सहज बनाउन विशेषगरी ग्यास बुलेट, मालवाहक सवारी, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई यथासक्य चाँडो आवागमनको व्यवस्था मिलाउने तयारी भइरहेको छ।

योजनाका अनुसार सम्भव भएसम्म भदौ मसान्तसम्म अत्यावश्यक सवारीसाधन सञ्चालन गर्न सकिने गरी सडक खुलाउने लक्ष्य राखिएको छ।

सडक सञ्चालनका लागि आवश्यक कामलाई प्राथमिकताका साथ अघि बढाइएको र लक्ष्यअनुसार काम सम्पन्न गर्न जनशक्ति तथा उपकरण परिचालन गरिएको इन्जिनियर ढकालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *