काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसघंको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन्। महासभाको ‘उच्चस्तरीय सामान्य बहस’ असोज ६ देखि १२ गतेसम्म अमेरिकाको न्युयोर्कमा आयोजना हुँदैछ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले महासभाको सामान्य बहसमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। यसपटक महासभाको नारा ‘विश्वास पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसघं रहेको छ।
महासभामा हालसम्म ८१ मुलुकका राष्ट्रप्रमुख र नेपालसहित ५० मुलुकका सरकार प्रमुख सहभागी हुने जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ।
जेनजी आन्दोलन र सरकारका प्राथमिकता प्रस्तुत गरिने
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार महासभा नेपालका पछिल्ला राजनीतिक घटनाक्रम, गत वर्षको ‘जेनजी’ आन्दोलन, त्यसपछि सम्पन्न निर्वाचन र निर्वाचनबाट प्राप्त जनादेशअनुसार गठन भएको वर्तमान सरकारका प्राथमिकताावलाई निरन्तरता दिन तथा थप विस्तार गर्न उच्चस्तरबाटै आह्वान गर्ने अवसरका अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसर हुनेछ।
उनका अनुसार अन्तर्राष्ट्रिय सहयोग र सद्भावलाई निरन्तरता दिन तथा थप विस्तार गर्न उच्चस्तरबाटै आह्वान गर्ने अवसरका रूपमा पनि महासभालाई उपयोग गरिनेछ।
जलवायु न्यायको मुद्दा उठाउने तयारी
प्रधानमन्त्री शाहले महासभामा नेपालले भोग्दै आएको जलवायु संकट र त्यसबाट सिर्जित विपद्का विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी गरिएको छ।
हालै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको विषय उठाइनेछ।
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगन्य भए पनि जलवायु परिवर्तनका नकारात्मक असरबाट नेपालजस्ता मुलुक बढी प्रभावित हुनुपरेको विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिने सचिव राईले बताए।
नेपालले हानि तथा नोक्सानीसम्बन्धी कोषलगायत संयन्त्रबाट तत्काल र उचित क्षतिपूर्ति उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने तयारी गरेको छ।
त्यस्तै, जलवायु उत्थानशील पूर्वाधार निर्माण, जलवायुमैत्री कृषि प्रवर्द्धन तथा सरोकारवालाको क्षमता विकासका लागि आवश्यक प्रविधि र जलवायु वित्त सहज तथा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन विकसित मुलुकसँग अपिल गरिनेछ।
हिमालय संरक्षणमा नेपालको योगदान प्रस्तुत गरिने
महासभामा नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय क्षेत्र र बृहत् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षणमा पुर्याउँदै आएको योगदानबारे समेत जानकारी गराउनेछ।
यसै क्रममा नेपालले ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्य निर्माणका लागि कार्य आह्वान’ विषयक सहायक कार्यक्रम आयोजना गर्ने भएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव र त्यसबाट सिर्जित विनाशकारी परिणामबारे छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री खनालले विभिन्न बैठकमा भाग लिने
परराष्ट्रमन्त्री शिशिर खनालले महासभाका क्रममा अतिकम विकसित मुलुक, भूपरिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न मुलुक, जि–७७ तथा चीनलगायतका मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउनेछन्।
उनले संयुक्त राष्ट्रसघंका अन्य उच्चस्तरीय छलफल तथा साइड इभेन्टलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ। साथै छिमेकीसहित विभिन्न मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्