विराटनगर । समयमै सघन उपचार कक्ष (आईसीयू) उपलब्ध नहुँदा सर्पले डसेकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका–५ की अस्मिता चौहानकी ८ वर्षीया छोरी आस्वाना चौहानलाई बुधबार साँझ घरमै रहेका बेला गोमन सर्पले बायाँ हातमा डसेको थियो। परिवारले तत्काल सर्पले टोकेको थाहा नपाए पनि हातमा रगत देखिएपछि उनलाई इटहरीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो।
उपचार केन्द्रमा एन्टीभेनम दिइएपछि बालिकालाई थप उपचारका लागि सघन उपचार कक्ष आवश्यक परेको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो। तर प्रतिष्ठानमा रहेका चारवटै पीआईसीयू भरिएका कारण उनलाई भर्ना गर्न नसकिएको परिवारले जनाएको छ।
त्यसपछि अभिभावकले बालिकालाई मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याएका थिए। तर त्यतिबेलासम्म उनको अवस्था गम्भीर भइसकेको थियो। उपचार सुरु गरेको केही समयपछि बुधबार बेलुका करिब साढे ८ बजे बालिकाको मृत्यु भयो।
बालिकाका काका मनिराज चौहानले समयमै सघन उपचार कक्ष उपलब्ध भएको भए उनलाई बचाउन सकिने सम्भावना रहेको बताए। उनले आफूले भोगेको जस्तो पीडा अरू परिवारले भोग्न नपरोस् भन्दै राज्यले सर्पदंश उपचार तथा सघन उपचारका लागि आवश्यक पूर्वाधार विस्तार गर्नुपर्ने माग गरेका छन्। सरकारी अस्पतालको सेवा र उपचार क्षमता सुधार गर्नुपर्ने उनको भनाइ छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्