काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षाका लागि सरकारले घोषणा गरेको १ अर्ब रुपैयाँको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ कार्यान्वयन गर्न कार्यविधि तयार गरिने भएको छ।
योजनाका लागि आवश्यक रकम शिक्षा मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकबाट रकमान्तर गर्ने तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सहप्रवक्ता वीरबहादुर धामीका अनुसार रकम ससर्त अनुदानका रूपमा अधिकतम स्थानीय तह र केही अंश प्रदेश तथा संघीय कार्यालयमार्फत परिचालन गरिनेछ। आवश्यकताको सही आकलन र प्रमाणीकरणका आधारमा रकम उपलब्ध गराइने उनले बताए।
योजना विशेषगरी रसुवा, नुवाकोट र धादिङमा केन्द्रित हुनेछ। छात्रवृत्ति विद्यार्थीलाई नगद उपलब्ध गराउनेमा मात्र सीमित नभई शैक्षिक सामग्री, आवासीय सुविधा, सिकाइ निरन्तरता तथा विद्यालय पुनर्निर्माणलगायत शिक्षासँग सम्बन्धित क्षेत्रमा खर्च गरिनेछ।
प्रारम्भिक विवरणअनुसार बाढीबाट तीन जिल्लाका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै, १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन छन् भने ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्