काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ कर्मचारी तथा श्रमिकको खोजी कार्य जंगल क्षेत्रमा समेत विस्तार गरिएको छ।
आयोजनाको विद्युतयगृह बाहिर बाढीबाट जोगिन भागेको हुन सक्ने सम्भावित क्षेत्र तथा जंगलमा खोजी गर्न दक्ष र अनुभवी रक क्लाइम्बर टोली परिचालन गरिएको हो।
कम्पनीले आफ्नै प्रयासमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष जनशक्ति परिचालन गरी घट्टेखोला क्याम्प तथा आसपासका जंगल क्षेत्रमा ग्राउन्ड सर्च गरिरहेको जनाएको छ। त्यसका लागि हिमालय समिट क्लब प्रालिको आठ सदस्यीय टोली परिचालन गरिएको छ।
कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार टोलीले टिमुरे क्षेत्रमा प्रारम्भिक खोजी गरेपछि हेलिकप्टरमार्फत घट्टेखोला क्षेत्रमा पुगेर खोजी गरेको थियो। शनिबार बिहान ७ः३० बजेदेखि टोलीले सम्भावित क्षेत्रमा खोजीलाई निरन्तरता दिएको थियो।
‘बाढी आउँदा कोही भागेर माथि जंगलतिर गएर बसेको हुन सक्ने अनुमान गरेर खोजी गरिरहेका छौं,’ न्यौपानेले भने, ‘भागेर जंगलतिर गएकाहरू धेरैजसो सम्पर्कमा आइसकेका छन्। तर भाग्ने क्रममा चोटपटक लागेर हिँड्न नसक्ने अवस्थामा कोही कतै अड्किएका छन् कि भनेर खोजी गरिरहेका हौं।’
बाढीका बेला आयोजनास्थलबाट भागेर जंगल तथा माथिल्लो क्षेत्रमा पुगेका केही व्यक्ति यसअघि नै सम्पर्कमा आइसकेका छन्। तर चोटपटक लागेर जंगलमै फसेका वा हिँड्न नसक्ने अवस्थामा रहेका व्यक्ति हुन सक्ने आशंकामा खोजी जारी राखिएको कम्पनीले जनाएको छ।
यसैबीच, शनिबार नेपाली सेनाको उद्धार टोलीले आयोजनास्थलको रेकी गरेपछि बिहान ९ः२० बजेदेखि विद्युत्गृहभित्र समेत खोजी तथा उद्धार प्रयास गरेको थियो। विद्युत्गृहभित्र गरिएको खोजीबाट सम्पर्कविहीनको अवस्था पत्ता नलागेपछि कम्पनीले बाहिरी क्षेत्र, विशेषगरी जंगल तथा पहाडी भूभागमा खोजीलाई प्राथमिकता दिएको हो।
रक क्लाइम्बर टोलीले मानिसहरू बाढीबाट जोगिन भाग्न सक्ने सम्भावित बाटो, ओत लाग्न सक्ने स्थान तथा अप्ठ्यारो भौगोलिक क्षेत्रमा खोजी गरिरहेको छ।
कम्पनीका पूर्वकर्मचारी तथा वरिष्ठ भूगर्भविद् एवं टनेल विज्ञ विष्णु शिवाकोटीसहित नेपाली सेनाको उद्धार टोली चारवटा हेलिकप्टरमार्फत आयोजनास्थल पुगेको थियो।
उद्धार टोलीले भग्नावशेष हटाउँदै विद्युत्गृहभित्र प्रवेश गरेर कन्ट्रोल रुम आसपास तथा विभिन्न स्थानमा खोजी गरेको थियो। तर कन्ट्रोल रुम पूर्णरूपमा हिलो तथा लेदोले पुरिएको र बाढीले ल्याएको माटो, लेदो तथा काठका टुक्रा ईओटी क्रेन लेभलभन्दा माथिसम्म पुगेको पाइएको कम्पनीले जनाएको छ।
विद्युत्गृहभित्र ४ देखि १४ जनासम्म फसेको हुन सक्ने अनुमान गरिए पनि शनिबारको खोजीका क्रममा कोही पनि फेला परेनन्। उद्धार टोली अहिले विद्युत्गृहबाट बाहिर निस्किसकेको छ।
बाढीका कारण आयोजनामा कार्यरत ९३ कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन्। आयोजनामा कार्यरत सात जनाको भने यसअघि नै उद्धार भइसकेको कम्पनीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्