गगन थापाले खड्का र शेखरसँग छुट्टाछुट्टै छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २१

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

एक कांग्रेस नेताका अनुसार सभापति थापाले शनिबार पूर्वउपसभापति खड्का र आइतबार नेता डा. कोइरालासँग भेटवार्ता गरेका हुन् ।

कांग्रेसका एक पदाधिकारीका अनुसार पार्टीभित्रको पछिल्लो विवाद, आसन्न १५औँ महाधिवेशन तथा बाढीपछिको राहत र पुनर्निर्माणलगायतका विषयमा नेताहरूसँग छलफल भएको हो । भेटवार्तामा भएका कुराकानीबारे सभापति थापाले कार्यसम्पादन समिति बैठकमा जानकारी गराउने बताइएको छ ।

आसन्न महाधिवेशन र बाढीपछिको राहत तथा पुनर्निर्माणका विषयमा छलफल गर्न कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

पार्टीभित्र सहमतिको प्रयासलाई निरन्तरता दिन वडा तहको अधिवेशन एक साता पर सार्ने तयारीसमेत गरिएको छ । यद्यपि, केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म तोकिएकै मितिमा गर्ने गरी तयारी अघि बढाइएको छ ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने गरी अघि सारेको कार्यतालिकाप्रति खड्का र कोइराला सहमत देखिएका छैनन् ।

देउवा पक्षले महाधिवेशनको कार्यतालिका तय गर्न बोलाएको बैठकमा समेत खड्का र कोइराला सहभागी भएका थिएनन् । त्यस्तै, देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको अन्तिम दिनमा पनि दुवै नेता सहभागी भएनन् ।

पार्टीभित्रको विवाद समाधान गर्दै महाधिवेशनलाई सहमतिका आधारमा अघि बढाउने प्रयासस्वरूप सभापति थापाले शीर्ष नेताहरूसँग संवाद तीव्र बनाएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *