भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख थुनिएपछि भित्र फसेका दुई जनाको शुक्रबार १० दिनपछि सकुशल उद्धार गरिएको छ।
नेपाली सेनाको कमान्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणका प्राविधिकसहितको टोलीले एक सातासम्म निरन्तर खोज तथा उद्धार अभियान चलाएपछि सञ्जय साह र कविर महर्जनलाई जीवितै उद्धार गर्न सफल भएको हो।
उद्धारपछि महर्जनलाई सैनिक अस्पताल छाउनीमा उपचारका लागि लगिएको छ भने साहलाई पनि चिकित्सकीय निगरानीमा राखिएको छ।
उद्धार टोलीको नेतृत्व गरिरहेका नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल गंगा बरालले रातदिन निरन्तर गरिएको प्रयासपछि सफलता हात परेको बताए। उनले यो घटनाले जटिल विपद्को अवस्थामा समेत नेपाली उद्धार टोलीले प्रभावकारी काम गर्न सक्छ भन्ने प्रमाणित गरेको बताए।
सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुनसक्ने आशंकामा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ। सुरक्षा निकाय र प्राविधिक टोलीबीचको समन्वयमा उद्धार अभियान अघि बढिरहेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्