काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका कबीर महर्जनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
भोटेकोशी बाढीका कारण सुरुङको प्रवेशद्वार थुनिएपछि महर्जन सुरुङभित्रै फसेका थिए। बाढी आएको १० दिनपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले उनलाई सकुशल बाहिर निकाल्न सफल भएको हो।
घटनास्थलमै प्रारम्भिक उपचार गरिएपछि महर्जनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। त्यसपछि उनलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार सुरु गरिएको हो।
कबीर जीवितै उद्धार भएको खबर पाएपछि उनका आफन्तजनहरू अस्पताल पुगेका छन्। लामो समयसम्म परिवारसँग सम्पर्कविहीन रहेका कबीर सकुशल भेटिएपछि परिवारमा खुसी छाएको छ।
कबीरकी श्रीमती हीराशोभा महर्जनले उद्धार तथा उपचारमा खटिएका नेपाली सेना, चिकित्सक टोली, आफन्तजन र नेपाल सरकारप्रति विशेष धन्यवाद व्यक्त गरेकी छन्। उनले विगत १० दिनदेखि परिवारका सदस्यहरू कबीरको अवस्था थाहा पाउन नसक्दा अत्यन्तै चिन्तित र पर्खाइमा रहेको बताइन्।
हेलिकोप्टरबाट काठमाडौं ल्याउँदा कबीरले सुरुमा आफन्तजनलाई समेत चिन्न नसकेको हीराशोभाले जानकारी दिइन्। उनका अनुसार कबीरले सुरुमा ‘म कहाँ छु, मलाई के भएको हो ?’ भनेर सोधेका थिए।
लामो समयसम्म सुरुङभित्र फसेर उद्धार भएका कबीरको अवस्था अहिले चिकित्सकको निगरानीमा रहेको छ। उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले निरन्तर मूल्याङ्कन गरिरहेका छन्।
कबीरको जीवितै उद्धार भएपछि त्रिशूली–३ ‘ए’ सुरुङमा अझै हराइरहेका भनिएका अन्य व्यक्तिहरूको पनि सकुशल उद्धार हुनसक्ने आशा बढेको छ। उद्धार टोलीले सुरुङभित्र खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्