धादिङ गल्छीमा २८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित,लत्ताकपडा र भाँडाकुँडाको अभाव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १६

काठमाडौँ । गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको गल्छी गाउँपालिकामा २८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

गाउँपालिकाले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार वडा नम्बर ६ सबैभन्दा बढी प्रभावित भएको छ। वडा नम्बर ४, ८ र १ मा पनि ठूलो भौतिक क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए।

दुलालका अनुसार पालिकाका विभिन्न वडामा घर, सडक, पुललगायतका संरचनामा ठूलो क्षति पुगेको छ। विपद्का समयमा गल्छीबाट नुवाकोट र रसुवातर्फ गएका १० जना स्थानीय सम्पर्कविहीन भएका थिए। तीमध्ये एक जनाको शव फेला परेको छ भने नौ जना अझै बेपत्ता छन्।

बाढीका कारण १२० परिवार पूर्ण रूपमा विस्थापित भएर अहिले अस्थायी बसोबासमा छन्। गाउँपालिकाले पूर्ण तथा आंशिक क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।

खाद्यान्नको अभाव छैन

प्रभावित परिवारलाई गाउँपालिकाले तत्काल राहतस्वरूप प्रतिपरिवार दुई बोरा चामलसहित तेल, दाल, नुन र मसलालगायतका अत्यावश्यक खाद्य सामग्री घरघरमै पुर्‍याएको छ।

विश्व खाद्य कार्यक्रमले आगामी तीन महिनासम्म खाद्यान्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। विस्थापितका लागि दुई स्थानमा ‘होल्डिङ सेन्टर’ सञ्चालन गरिएको छ, जहाँ करिब १८० जनाले नियमित रूपमा खाना खाइरहेका छन्।

विभिन्न दातृ निकाय तथा संघसंस्थाबाट समेत राहत सामग्री प्राप्त हुने क्रम जारी रहेकाले तत्कालका लागि खाद्यान्न पर्याप्त रहेको प्रमुख प्रशासकीय अधिकृत दुलालले बताए।

लत्ताकपडा र भाँडाकुँडाको अभाव

खाद्यान्नको समस्या तत्कालका लागि समाधान भए पनि पीडितलाई अन्य आधारभूत सामग्रीको अभाव देखिएको छ। धेरैजसो मानिस ज्यान जोगाउन एकसरो लुगामै घरबाट बाहिरिनुपरेकाले फेर्ने कपडा, सिरक–डसना तथा भाँडाकुँडाको आवश्यकता रहेको गाउँपालिकाले जनाएको छ।

दुलालका अनुसार विस्थापित परिवारका लागि तत्काल टेन्ट, खाना पकाउने चुलो, ग्यास सिलिन्डर, भाँडाकुँडा तथा उज्यालोका लागि सोलार बत्ती आवश्यक छ।

जिल्ला प्रशासन कार्यालयमार्फत पनि केही राहत सामग्री प्राप्त भएको र ती सामग्री प्रभावित परिवारलाई वितरण भइरहेको उनले बताए।

स्वास्थ्य र मनोपरामर्शमा जोड

बाढीबाट करोडौँ रुपैयाँ बराबरको धनमाल क्षति भएपछि प्रभावितहरू मानसिक रूपमा समेत विचलित बनेका छन्। उनीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाले मोबाइल स्वास्थ्य टोली परिचालन गरेको छ।

मोबाइल स्वास्थ्य टोलीमा चिकित्सकसहित मनोपरामर्शदाता सहभागी छन्। टोलीले प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य परीक्षण, उपचार तथा मनोपरामर्श सेवा प्रदान गरिरहेको छ।

गाउँपालिकाले उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्दै राहत, पुनर्स्थापना तथा प्रभावित परिवारको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत दुलालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *