कतारबाट ल्याइएको आपत्कालीन मानवीय सहायता सामग्री हस्तान्तरण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १६

काठमाडौँ । हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि कतारबाट ल्याइएको आपत्कालीन मानवीय सहायता सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

कतारी सशस्त्र बलको विशेष विमानमार्फत नेपाल ल्याइएको उक्त राहत सामग्री कतार फन्ड फर डेभलपमेन्टले उपलब्ध गराएको हो। विपद्को समयमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता जनाउँदै विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने कतारको निरन्तर प्रयासअन्तर्गत उक्त सामग्री नेपाल ल्याइएको हो।

करिब ५२ हजार बाढीपीडितलाई प्रत्यक्ष लाभ पुग्ने गरी पठाइएको सहायता सामग्रीमा पानी तान्ने तथा निष्कासन गर्ने उपकरण, बत्ती, खाद्यान्न र बहुउपयोगी त्रिपाललगायतका सामग्री छन्।

विशेषगरी शुद्ध पिउने पानी तथा अत्यावश्यक सेवाको पहुँचमा कठिनाइ भोगिरहेका प्रभावित क्षेत्रका परिवार र बालबालिकाको प्राथमिक मानवीय आवश्यकता पूरा गर्न उक्त सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

कतारी आन्तरिक सुरक्षा बलसँग सम्बद्ध कतारी इन्टरनेसनल सर्च एन्ड रेस्क्यु ग्रुपले राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याउन तथा फिल्डमा सञ्चालन भइरहेका मानवीय कार्यमा प्रत्यक्ष सहयोग गरिरहेको छ।

विपद् र संकटको समयमा प्रभावित देश तथा जनताको पक्षमा उभिने कतारको नीतिको निरन्तरताका रूपमा यो सहयोग आएको जनाइएको छ।

कतारले संकटको सामना गर्न सहयोग गर्नुका साथै प्रभावित समुदायको पुनर्स्थापना र उत्थानशीलता अभिवृद्धिमा योगदान पुर्‍याउनु अन्तर्राष्ट्रिय सहकार्यको महत्वपूर्ण उद्देश्य रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *